आगामी २३–२४ भदौमा काठमाडौंमा आयोजना हुने पूर्वाधार सम्मेलनमा भारतको सडक यातायात, राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री जनरल विजयकुमार सिंह सहभागी हुने भएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गर्ने सम्मेलनमा ‘गेस्ट अफ अनर’का रूपमा राज्यमन्त्री सिंहलाई निम्त्याइने भएको हो ।
परिसंघले आसन्न ‘नेपाल पूर्वाधार सम्मेलन २०२२’ मा गेस्ट अफ अनरका रूपमा सहभागी हुन भारतीय राज्यमन्त्री सिंहलाई निमन्त्रणा गरेको छ । परिसंघको तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवालले बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा राज्यमन्त्री सिंहलाई भेटेर निमन्त्रणा गरेका हुन् । राज्यमन्त्री सिंहलाई सम्मेलनमा सहभागी हुन यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत औपचारिक रूपमा निमन्त्रणा पठाइसकेको छ ।
परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते (सेप्टेम्बर ८–९, २०२२) मा पूर्वाधार सम्मेलन आयोजना गर्दै छ । कमजोर भौतिक पूर्वाधारका कारण नेपालको औद्योगिक विकासमा बाधा र व्यवसाय सञ्चालन लागत उच्च रहँदै आएको छ । दिगो भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर परिसंघले ‘विकासका लागि पूर्वाधार’ मूल नाराका साथ चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको हो । नेपालकै सबैभन्दा ठूलो पूर्वाधारसम्बन्धी यस दुईदिने सम्मेलनमा २५ भन्दा बढी देशबाट कम्तीमा एक हजारजनाको सहभागिता हुनेछ ।
भारतीय पूर्वाधार विकासको अभियानमा एक नेतृत्वकर्ताका रूपमा रहेका राज्यमन्त्री सिंहको उपस्थितिले नेपाललाई अत्यावश्यक पूर्वाधार विकासका लागि घचघच्याउने विश्वास लिएको अध्यक्ष अग्रवालले बताए । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले भारतीय पूर्वाधारहरूसँगको सम्पर्क अपरिहार्य रहेको सन्दर्भमा पूर्वाधारमा भारतले हासिल गरेको सफलतालाई सहजै नेपालमा अनुसरण गर्न सकिन्छ ।