‘अग्निपथ’मा अलमल : सरकारले भारतसँग माग्यो औपचारिक जानकारी

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

भारतमा चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने एउटा नयाँ सरकारी योजना ‘अग्निपथ’मा नेपालीको भर्तीलाई लिएर सरकारले भारतसँग औपचारिक जानकारी मागेको छ । ‘अग्निपथ’ योजनाले गोर्खा भर्तीलाई प्रभावित गर्छ वा गर्दैन र यो नेपाल, भारत र बेलायतबीच सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौतासँग मेल खान्छ–खाँदैन भनेर सरकारले जान्न चाहेको हो ।

परराष्ट्र मन्त्रालयले यसबारे चासो राखेर भारतसँग संवाद अगाडि बढाएको हो । कूटनीतिक स्रोतका अनुसार परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाएर ‘अग्निपथ’ योजनाबारे भारत सरकारको औपचारिक लिखित जानकारीका लागि आग्रह गरेका छन् । राजदूत श्रीवास्तवले यसबारे दिल्लीस्थित विदेश मन्त्रालयमा तत्कालै पत्राचार गर्ने आश्वासन दिएको स्रोतले बतायो । 

भारत सरकारले ३१ जेठमा ल्याएको ‘अग्निपथ’ योजनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी दिएको थिएन । भारत सरकारले २० असारमा नेपाल सरकारलाई चिठी पठाएर अढाई वर्षयता रोकिएको गोर्खा भर्ती सुचारु गर्न लागेको जानकारी दिएको थियो । भारतले पठाएको चिठीमा ‘अग्निपथ’ योजनाबारे उल्लेख थिएन । 

अरिन्दम बाग्ची, प्रवक्ता, भारतीय विदेश मन्त्रालय
हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा सैनिक भर्ती गर्दै आएका छौँ । अब अग्निपथ स्किमअन्तर्गत भारतीय सेनामा गोर्खा भर्तीको प्रतीक्षारत छौँ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा गोर्खा भर्ती पनि ‘अग्निपथ’ योजनाअनुसार हुने बताएका छन् । ‘हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा सैनिक भर्ती गर्दै आएका छौँ । अब अग्निपथ स्किमअन्तर्गत भारतीय सेनामा गोर्खा भर्तीको प्रतीक्षारत छौँ,’ बाग्चीले भने । 

हाल गोर्खा सेनामा ३२ हजार कार्यरत छन् । उनीहरूको तलब र अवकाशप्राप्तको पेन्सन गरेर करिब वार्षिक ६० अर्ब नेपालमा आउँछ । ‘अग्निपथ’ योजनामा भारतीय सेनामा भर्ती खुलिसकेको छ । ‘अहिले भारतमा भर्ती सुचारु भएको छ, नेपालमा पनि भर्तीका लागि भारत सरकारले आग्रह गरेको हो,’ भारतीय सेनाका पूर्वउपरथी अशोक मेहताले नयाँ पत्रिकासँग भने । 

नेपालमा धरान र पोखरास्थित पेन्सन क्याम्पमार्फत गोर्खा भर्तीका लागि बिहीबारदेखि प्रक्रिया अघि बढाउने भारतीय सेनाको योजना थियो । भारतले ‘अग्निपथ’ योजनाबारे सुरुमै स्पष्ट र आश्वस्त पार्न नसक्दा गोर्खा भर्तीको प्रक्रिया भने अगाडि बढेको छैन । 

भारत सरकारले डेढ महिनाअघि पठाएको चिठीबारे नेपाल सरकारका सम्बन्धित निकायले छलफल गरेका थिएनन् । भारतीय राजदूतावासले एक साताअघि सरकारसँग ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री डा. खड्का, परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदी, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागीलगायतसँग राय मागेका थिए । 

प्रभुराम शर्मा, प्रधानसेनापति
अग्निपथ स्किममा चार वर्षपछि जागिरबाट छाड्नेले पेन्सन पाउँदैनन् । पेन्सन नपाएपछि हाम्रा युवालाई फाइदा छैन । सरकारले पेन्सनको कुरा क्लियर नभएसम्म भारतीय सेनामा भर्तीका लागि अनुमति दिनुहुँदैन ।

भारत सरकारको औपचारिक धारणा पनि माग्ने र प्रतिपक्षी एमालेसहित गठबन्धन दलका नेतासँग पनि छलफल गरेर यसबारे निष्कर्ष निकाल्ने सरकारको योजना छ । नेपाली सेनाले ‘अग्निपथ’ योजनामा सहभागी नहुन सुझाव दिएको छ । प्रधानसेनापति शर्माले ‘अग्निपथ’ योजनाले नेपाललाई फाइदा नहुने विश्लेषण गर्दै नेपाली युवा पठाउन अनुमति दिन नहुने सुझाव दिएका छन् । ‘अग्निपथ स्किममा चार वर्षपछि जागिरबाट छाड्नेहरूले पेन्सन पाउँदैनन् । पेन्सन नपाएपछि हाम्रा युवालाई फाइदा छैन । सरकारले पेन्सनको कुरा क्लियर नभएसम्म भारतीय सेनामा भर्तीका लागि अनुमति दिनुहुँदैन,’ राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानसेनापति शर्माले बताएको स्रोतको भनाइ छ । 

भारत सरकारको ‘अग्निपथ’ योजना, गोर्खा भर्तीबारे त्रिपक्षीय योजना र यसमा नेपाली युवाहरूको सहभागिताबारे विज्ञहरूको मतमा एकरूपता छैन । पूर्वउपरथी पूर्ण सिलवालले नेपाल, भारत र बेलायतबीचको सम्झौताले ‘अग्निपथ’ नचिन्ने बताए । ‘नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता कार्यान्वयन हुनुपर्छ । उक्त सम्झौताले अग्निपथ चिन्दैन । अग्निपथ भारतको आन्तरिक मामिला हो, गोर्खा भर्ती त्रिपक्षीय मामिला हो । हामी त्रिपक्षीय सम्झौताभन्दा दायाँ–बायाँ गर्नुहुँदैन,’ उनले नयाँ पत्रिकासँग भने । 

तर, पूर्वउपरथी बिनोज बस्न्यातले भने अग्निपथले विगतको सम्झौता उल्लंघन नगर्ने र नेपालले यसलाई उपयोग गर्नुपर्ने बताए । ‘गोर्खा भर्ती भारतीय र ब्रिटिस सेनाकै नीतिअनुसार हुँदै आएको थियो र अब पनि उसकै नीतिअनुसार हुने हो । हामीले यससम्बन्धी कुनै निर्णय लिनुभन्दा पूर्व रोजगारको अवसरको विकल्प पनि तयार गर्नुपर्छ । अग्निपथले विगतको सम्झौता उल्लंघन गर्दैन,’ उनले भने, ‘बरु, अग्निपथ स्किम सकेर नेपाल फर्केका प्रशिक्षित जनशक्तिलाई मुलुकको विकासमा कसरी उपयोग गर्ने भन्ने रणनीतिक योजना बनाउनु आवश्यक छ । चार वर्षपछि फर्किने जनशक्तिलाई फोर्स मल्टिप्लायरका रूपमा भविष्यमा उपयोग गर्न सक्ने विषयमा सरकारले सोच्नुपर्छ । तर, यसलाई चुनावकेन्द्रित राजनीतिक एजेन्डा बनाउनुहुँदैन ।’ 

भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले ‘अग्निपथ’ योजनाले गोर्खा भर्तीलाई धेरै फरक नपार्ने टिप्पणी गरे । ‘अग्निपथ स्किमले नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सम्झौता उल्लंघन हुँदैन । नेपाली नागरिकलाई भारतीयभन्दा विभेद पनि भएको छैन,’ उनले भने, ‘जब प्यारेन्ट (भारतीय) सेना नै अग्निपथ स्किममा छ भने गोर्खा सैनिकलाई भारत सरकारले अलग्गै स्किममा राख्ने कुरा हुँदैन । यसले गोर्खा भर्तीलाई धेरै फरक पर्छ जस्तो मलाई लाग्दैन ।’ 

नेपाल–भारत सम्बन्धका जानकार डा. निहार नायकले ‘अग्निपथ’ योजनामा सहभागी हुने–नहुने विषय नेपाली नागरिकको व्यक्तिगत छनोटमा छाडिदिनुपर्ने बताए । ‘अग्निपथ योजनाका विषयमा भारत सरकारले नेपाल सरकारसँग पहिल्यै सल्लाह गरेको भए राम्रो हुन्थ्यो । तर, भारत सरकारले लागू गरिसकेको छ । त्रिपक्षीय सम्झौता भएपछि गोर्खा भर्तीमा सरकारको कुनै भूमिका थिएन, अब पनि यसलाई नेपाली नागरिकको व्यक्तिगत छनोटमा छाडिदिनुपर्छ । भारतमा पनि नागरिकको स्वतन्त्र छनोटको विषय हो,’ उनले भने, ‘भारतले रक्षा बजेट कटाएर विकासमा लगानी गर्न खोजिरहेको अवस्थामा गोर्खा भर्तीलाई बेग्लै नीति बनाएर समेट्न सक्छ जस्तो मलाई लाग्दैन । अग्निपथमा सहभागी भएका गोर्खालाई भारत सरकारका अन्य निकायमा भर्तीका लागि प्रशस्त अवसर रहेको भुल्नुहुँदैन ।’

‘अग्निपथ’ योजना के हो, यसमा भर्ना हुनेले के पाउँछन् ? 

दुई महिनाअघि सार्वजनिक गरिएको ‘अग्निपथ’ नाम दिइएको योजना भारतीय सेनाको योजना सुधारिएको भर्ती कार्यक्रम हो । यो भारतीय सेनाको बढ्दो खर्च कटौती गर्ने भारत सरकारको रणनीतिक उद्देश्यबाट प्रेरित छ । बर्सेनि बढ्दो तलब र निवृत्तिभरणमा सेनाको आधाजसो बजेट खर्च हुन्छ, जसले भारतको रक्षा बजेट बढाउँदै लगेको छ । अहिले भारतको रक्षा बजेट ५.२५ लाख करोडको छ । यो कुल बजेटको १३.३१ प्रतिशत छ । 

यसमा साढे १७ देखि २१ वर्षबीचका व्यक्तिलाई लक्षित गरेको छ । यसमा सफल आकांक्षी चार वर्षका लागि सेनामा भर्ती हुनेछन् । भारतमा योजनाको विरोध भएपछि यस वर्षका लागि मात्रै भर्ना २३ वर्षसम्मकाले आवेदन दिन पाउने बनाइएको छ । ‘अग्निपथ’ योजनाअन्तर्गत ४६ हजार सैनिक यो वर्ष भर्ती हुनेछन् । उनीहरू सुरुमा ६ महिनाका लागि तालिममा जानेछन् र बाँकी साढे तीन वर्ष सेवामा रहनेछन् । २५ प्रतिशतले मात्र सेवा जारी राख्न पाउनेछन् । बाँकीलाई अर्धसैनिक बलमा भर्नाका लागि अवसर दिइने उल्लेख छ । त्यहाँ पनि अवसर नपाएकाहरू घर फर्किनेछन् । योजना गोर्खा सैनिकमा पनि लागू हुने भारत सरकारले जनाएको छ ।

नयाँ योजना सेनाको आधुनिकीकरण गर्नलाई सहयोगी हुने कतिपय रक्षा विश्लेषकको मत छ । भारत सरकारले योजनाले सेनालाई युवामय बनाउने दाबी गरेको छ । कतिपय रक्षाविज्ञले योजनाले सेनाको संरचना कमजोर बनाउने र राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने बताएका छन् । 

भारतका एक सेवानिवृत्त मेजर जेनरल सेओनान सिंहले ‘योजना अविवेकी कदम भएको र यसले सुरक्षा फौजको प्रभावकारितालाई असर पार्न सक्ने’ भारतीय सञ्चारमाध्यममा टिप्पणी गरेका छन् । भारत–पाकिस्तान र भारत–चीनबीच वेलावेला सैन्य टकराव हुने गरेका छन् । सैनिकसँग तनावपूर्ण घटनामा कम अनुभवीको भूमिकालाई लिएर विश्लेषकहरूका प्रश्न छन् । 

भारतीय सेनामा १४ लाख जवान छन् । भारतीय सेना देशको एउटा मुख्य रोजगारदाता हो । भारतमा अहिले बेरोजगारीको समस्या छ । बर्सेनि झन्डै ६० हजार सैनिक सेवाबाट बाहिरिन्छन् र ती स्थान पूर्ति गर्न भर्ती योजना सञ्चालन हुन्छन् । 

तर, कोभिड महामारी सुरु भएदेखि भारतीय सेनामा भर्ती रोकिएका छन् र दशौँ लाख आकांक्षीको सेनामा जागिर खान पाइने उमेरहद कटेको छ । भारतीय सेनामा गोर्खा भर्ती पनि रोकिएपछि त्यहाँ जान इच्छुक नेपाली पनि प्रभावित भएका थिए । उनीहरूको मासिक तलब ३० हजार भारतीय रुपैयाँबाट सुरु हुनेछ र चारवर्षे सेवाको अन्त्यमा ४० हजार भारतीय रुपैयाँसम्म बुझ्नेछन् । चारवर्षे कार्यकाल सकिएपछिको उनीहरूको भविष्यबारे अहिले चासो छ । योजनाले युवाहरूलाई कम रोजगारी दिने र निराशातर्फ धकेल्ने भन्दै कतिपय विज्ञले चिन्ता गरेका छन् ।

गोर्खा भर्तीबारे नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सम्झौतामा के छ ?
सन् १९४७ नोभेम्बर ९ मा नेपाल, भारत र ब्रिटिसबीच त्रिपक्षीय सम्झौताले गोर्खा भर्तीलाई निरन्तरता दिएको थियो । त्रिपक्षीय सम्झौतामा बेलायतका तर्फबाट एसिबी साइमन, भारतका तर्फबाट लेफ्टिनेन्ट कर्नेल कनवार दयासिंह बेदी र नेपालका तर्फबाट प्रधानमन्त्री पद्मशमशेर राणाले हस्ताक्षर गरेका थिए । भारत स्वतन्त्र भएपछि भएको सम्झौतामा त्यसवेलासम्म रहेका गोर्खा सैनिकका १० रेजिमेन्टमध्ये दोस्रो, छैटौँ, सातौँ र दशौँ रेजिमेन्ट बेलायतको सेनाअन्तर्गत रहे भने बाँकी भारतमा रहे । सम्झौतामा नेपाली नागरिकका रूपमा गोर्खा भर्तीमा युवा सहभागी हुने र सम्बन्धित मुलुकका सेनासरह पेन्सनलगायतका सुविधा पाउने उल्लेख छ । सन् १८१६ देखि ब्रिटिस सेनामा नेपाली कार्यरत रहेकोमा त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपालीको भर्ती सुरु भएको थियो ।

See More On

सुझावित समाचार