ताप्लेजुङको फुङलिङ नगरपालिकाभित्र तथा बाहिर मदिरा बिक्री–वितरणमा कडाइ गरिने भएको छ। मदिरा बिक्री–वितरण गरिने साना–ठूला सबै होटेलको अनुगन गरी इजाजत नलिएकालाई कारबाही गर्न लागिएको हो।
सात दिनसम्म दर्ता गरी इजाजतपत्र लिन समय दिइने र त्यसपछि पनि दर्ता गर्न आलटाल गर्ने होटेललाई बन्द गरिने प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताए। प्रशासन कार्यालयले होटेलहरूमा क्याबिन राख्न नपाइनेसमेत स्पष्ट पारेको छ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सुरक्षा निकायका प्रमुख र होटेल व्यवसायीका प्रतिनिधिसहितको सरोकारवालासँग छलफल गर्दै होटेलमा क्याबिन नराख्ने र अहिले भएका क्याबिन हटाउने सहमति भएको जानकारी दिए। चाडबाडलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रहरी प्रमुख डिएसपी कैलाश राईले बताए।