स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि ओलीको ब्रिफिङ

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे ब्रिफिङ गरेका छन्। पार्टी कार्यालय च्यासल ललितपुरमा मंगलबार सम्पन्न स्थायी समिति बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनको तयारीका विषयमा ब्रिफिङ गरेका हुन्।

प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, मुलुकको अहिलेको अवस्था, गठबन्धन सरकारले गरेका गलत काम, चुनावी तयारीलगायतका विषय समेट्ने गरी तयारी गरिएको ओलीले ब्रिफिङ गरेका थिए। राजनीतिक प्रतिवेदनमाथि एक दर्जन स्थायी समिति सदस्यहरूले सुझाव राखेका छन्।

‘प्रतिवेदनको मूल विषयमा अध्यक्षले ब्रिफिङ गर्नुभएको छ, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, गठबन्धन सरकारले गरेका गलत काम, आगामी चुनावको तयारीबारे प्रतिवेदनमा आउनेछ, अध्यक्षले प्रतिवेदनमा केके कुरा आउँदै छ भनेर ब्रिफिङ गर्नुभयो।’ उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकपछि संचारकर्मीहरूसँग भने।

 एमालेले ९ भदौमा पोलिटब्युरो, १० र ११ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटी बैठकलगत्तै चुनाव परिचालन कमिटीको बैठकबाट औपचारिक रूपमा तयारीमा अघि बढ्ने गरी एमालेले तयारी गरेको छ।

See More On

सुझावित समाचार