आइसिसी वरीयताअनुसार नेपाल एकदिवसीयमा १९औँ र टी–२० मा १४औँ स्थानमा छ भने केन्या टी–२० वरीयतामा ३० औँ स्थानमा छ
आइसिसीको नियमित कार्यक्रमअनुसार नेपालले पछिल्लो समय खेल्ने कार्यक्रम विश्वकप डिभिजन लिग २ हो । यद्यपि, यसको मिति अझै तय भइसकेको छैन । वर्षायाम भएकाले देशभित्रै पनि क्रिकेटको कुनै प्रतियोगिता भएका छैनन् । यही फुर्सदको समय सदुपयोग गर्ने उद्देश्यले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले गत जुलाईमा आइसिसी कंग्रेसमा केन्यासँग एकदिवसीय र टी–२० शृंखला खेल्ने सहमति गरे ।
सहमतिअनुसार खेल्न नेपाली टोली सोमबार केन्या प्रस्थान गरेको छ । नेपालले केन्यासँग पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट शृंखला खेल्नेछ । कतिपयले केन्यासँग नेपाली टोलीलाई खेलाउन लागेको भनेर संघको विरोध पनि गरेका थिए । नेपालभन्दा तल्लो वरीयताको केन्याको टिमसँग शृंखला खेलाउन नहुने उनीहरूको तर्क थियो । नेपाल आइसिसी वरीयताअनुसार एकदिवसीयमा १९औँ र टी–२० मा १४औँ स्थानमा छ । यता, केन्या टी–२० वरीयतामा ३०औँ स्थानमा छ ।
तर, प्रतियोगिताको सम्पूर्ण खर्च केन्याले बेहोर्ने भएका कारण पनि क्यानले शृंखला खेल्ने निर्णय लिएको हो । दुबईको शारजाह हुँदै केन्या पुग्ने १६ खेलाडीसहित पाँच अफिसियललाई क्यानले बिदाइ गरेको छ । शृंखलालाई क्यानले वरीयता सुधारसहित खेलाडीको प्रदर्शन निखार्ने अवसरको रूपमा लिएको छ । बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चन्दले भने, ‘वर्षात्को वेला नेटमा भन्दा अभ्यास गर्न केन्या जाँदै छौँ । प्रशिक्षकले खेलाडी र खेलाडीले प्रशिक्षक चिन्नेसहित यो राम्रो तयारी गर्ने अवसर हो,’ उनले भने । ‘हामीलाई यो वरीयतासमेत सुधार्ने अवसर हो । निर्धक्क भएर खेल्नुहोस् । व्यक्तिगत प्रदर्शनसमेत सुधार्ने मौका यही हो,’ चन्दले भने ।
नवनियुक्त प्रशिक्षकका लागि समेत अवसर
केन्या भ्रमण नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरका लागि समेत अवसर हो । पछिल्लो समय युवा खेलाडीको खस्केको ब्याटिङ प्रदर्शनसहित एकदिवसीय खेलमा खेलाडीलाई मानसिक रूपमा बलियो बनाउनु प्रभाकरलाई चुनौती छ ।
केन्या प्रस्थान गर्नुअघि टोलीले २–४ दिन मात्रै मैदानमा अभ्यास गरेको थियो । तर पनि युवा खेलाडीलाई निखार्दै शृंखला जित्न खेलिने प्रभाकरले बताए । ‘हामीले २–४ दिन मात्रै मैदानमा अभ्यास गर्यौँ । युवा टिमलाई मेरो ‘बेस्ट’ दिन्छु । साँच्चै युवा टिमले चाँडै गर्न सक्छ । खेलाडीले राम्रो गर्नेमा विश्वस्त छु । केन्या भ्रमण सफल पार्छु,’ ५९ वर्षीय प्रभाकरले भने ।
प्रभाकरले पहिलोपटक नेपाली टिममा युवा ब्याटर अर्जुन साउदलाई समावेश गरेका छन् । यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लको पुनरागमन भएको छ । यता, विनोद भण्डारी, कुशल भुर्तेललाई भने विश्राम दिइएको छ ।
केन्या भ्रमणपछि नेपाली टिमले नामिबियामा डिभिजन २ का खेल खेल्नेछ । क्यान अध्यक्ष चन्दले १५ नोभेम्बरसम्म नेपाल वरीयताको १२औँ स्थानमा उक्लिए सन् २०२४ को विश्वकपमा स्थान बनाउन सफल हुने बताए । ‘हामीले विश्वकपअघि यस्तै खेलबाट तयारी गर्नुपर्छ । अहिलेबाटै तयारी गर्दा राम्रो प्रदर्शन दिन सक्छौँ र १५ नोभेम्बरसम्म १२औँ स्थानसम्म पुग्यौँ भने विश्वकपका लागि राम्रो हुन्छ,’ चन्दले भने ।
यस्तो छ नेपालको तालिका
नेपाल र केन्याबीच सुरुआतमा पाँच टी–२० खेल हुनेछ । त्यसपछि मात्रै एकदिवसीय खेल हुनेछ । नेपालले ९ भदौमा पहिलो, १० भदौमा दोस्रो, १२ भदौमा तेस्रो, १३ भदौमा चौथो र १४ भदौमा अन्तिम खेल खेल्नेछ । यस्तै, दुई दिनको विश्रामपछि एकदिवसीय खेल हुनेछ । नेपालले पहिलो एकदिवसीय खेल १७ भदौमा खेल्नेछ भने १८ भदौमा दोस्रो खेल र अन्तिम खेल २० भदौमा खेल्नेछ ।
नेपाली टिम
कप्तान : सन्दीप लामिछाने, उपकप्तान : रोहित पौडेल, सदस्यहरू : आरिफ शेख, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव ।
उत्साहित छौँ : सन्दीप लामिछाने, कप्तान
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नयाँ खेलाडी र पुनरागमन गरेका खेलाडीसहित केन्याविरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । उनले केन्यासँगको खेल निकै महत्वपूर्ण भएको र राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । ‘केन्याविरुद्ध केही नयाँ र पुनरागमन गरेका खेलाडी हुँदा खेल खेल्न निकै उत्साहित छौँ । प्रशिक्षक पनि नयाँ हुँदा सबै खेलाडी उत्सुक छन्,’ २२ वर्षीय युवा कप्तान सन्दीपले भने, ‘हामीले मैदानमा प्रशिक्षकले भनेझैँ २–४ दिन मात्रै अभ्यास गरेका छौँ । आफूभित्र भएको क्षमता देखाउने अवसर हो । राम्रो नतिजा ल्याउने अपेक्षा गरेका छौँ,’ उनले भने ।