दुई लागुऔषध कारोबारी लमजुङबाट पक्राउ

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध ओसारपसार तथा बिक्री गर्ने दुई कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले मर्स्याङ्दी गाउँपालिका ३ बस्ने  २९ वर्षको दोर्जे भनी चिनिने भीम बहादुर तामाङ र  बेँसीसहर नगरपालिका ८ बस्ने वर्ष ४२ का बमबहादुर बस्नेतलाई छुट्टाछुट्टै ठाउँबाट ३ सय ११ थान लागुऔषधसहित पक्राउ गरेको हो। 

लमजुङको ग्रामीण भेगसहित बजार क्षेत्रमा लागुऔषध बिक्री–वितरण तथा ओसारपसार गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध कारोबारी तामाङको साथबाट २ एमएलको डाइजेपाम एम्पुल ९० थान, फेनारगन एम्पुल ८९  थान, नुफिन एम्पुल ८७ थान, दुई थान मोबाइल र नागरिकता बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। उनका अनुसार तामाङको साथबाट २ सय ६६ थान लागुऔषध बरामद गरिएको छ।  

यस्तै अर्का लागुऔषध कारोबारी कबाडी बमे भनी चिनिने बस्नेतको साथबाट २ एमएलको डाइजेपाम एम्पुल १५ थान, फेनारगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान गरी ४५ थान  बरामद गरिएको प्रहरीले जनाएको छ। तामाङलाई आइतबार र बस्नेतलाई शुक्रबार लागुऔसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले बताए। पक्राउ परेका तामाङ र बस्नेतलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई थप अनुसन्धान भइरहेको रेग्मीले बताए। उनका अनुसार लमजुङ प्रहरीले यो वर्षकै ठूलो परिमाणमा लागुऔषध बरामद गर्न सफल भएको हो।

सुझावित समाचार