थप १११.८ मेगावाट विद्युत् भारतमा निर्यात गरिने

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा थप १११.८ मेगावाट बिजुली बिक्री गर्ने प्रस्ताव अघि बढाएको छ । प्राधिकरणकै विभिन्न चार आयोजनालाई स्रोत मानेर विद्युत् बिक्री गर्ने प्रस्ताव भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाइएको हो । भारतले यसअघि विभिन्न ६ आयोजनाको तीन सय ६४ मेगावाट विद्युत् आफ्नो बजारमा बिक्री गर्न प्राधिकरणलाई अनुमति दिइसकेको छ । सोहीअनुसार प्राधिकरणले अहिले दैनिक भारतीय बजारमा विद्युत् बिक्री गर्दै आएको छ । अब भारतले स्वीकृति दिएपछि थप विद्युत् निर्यात गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

प्राधिकरणले मिस्त्री खोलाको ४२ मेगावाट, लिखु खोला ‘ए’को २४.२ मेगावाट, सोलु खोलाको २३.५ मेगावाट र चिलिमेको २२.१ मेगावाट विद्युत्लाई स्रोत मानेर कुल १११.८ मेगावाट विद्युत् बिक्री प्रस्ताव गरेको हो । ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत् आदान–प्रदान गर्न निर्माण गरिएको एक सय ३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत् उत्तर बिहार पावर वितरण कम्पनीबाहेकका निकायलाई बिक्री गर्न छलफल भइरहेको छ,’ उनले भने । 

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे–अहेड मार्केट)मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घन्टा विद्युत् निर्यात गरिन्छ । 

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)ले गर्छ । एनभिभिएनले हरेक दिनको कारोबार विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

 साउनमा झन्डै दुई अर्बको बिजुली निर्यात 
प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०७९/८० को पहिलो महिना साउनमा झन्डै दुई अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । साउनमा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणले  जनाएको छ । प्राधिकरणले विद्युत् निर्यात गरेर दैनिक औसतमा पाँच करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । परिमाणका आधारमा साउनमा २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् निर्यात भएको छ । 

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् गत १९ जेठदेखि भारतीय खुला बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्दै आएको छ । प्राधिकरणले गत आवमा पनि विद्युत् निर्यात गरेर तीन अर्ब ८८ करोड आम्दानी गरेको छ । ढल्केबर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा विद्युत् निर्यात भइरहेको छ ।

भारतले सुरुमा दुई आयोजनाको ३९ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्ने अनुमति पाएको थियो । त्यसपछि २७ जेठबाट भने दैनिक रूपमा ६ आयोजनाको तीन सय ६४ मेगावाट विद्युत् भारततर्फ निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजना गरी कुल सात सय ३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो । त्योसँगै बर्खायाममा देशभित्रको मागभन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएको छ । त्यसरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । 

‘विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्िचतिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ । दुई मुलुकबीचको  व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ,’ उनले भने, ‘मुलुकमा विद्युत् उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन पनि उत्तिकै आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।’

सुझावित समाचार