युएईमा हुने ‘नेपाल इभ टुरिजम टुर २०२२’ कार्यक्रमको तयारी पूरा भएको छ । ब्लु चिप ग्रुप अफ कम्पनी र ड्रिम हाई नेपालको संयुक्त आयोजनामा अगस्ट २१ मा दुबईको वर्ल्ड ट्रेड सेन्टरस्थित सेख रसिद हलमा कार्यक्रम हुनेछ । कार्यक्रमका लागि महानायक राजेश हमाल पत्नीसहित युएई आइपुगेका छन् ।
त्यस्तै, गायिका सुनिता दुलाल, स्मृति दाहाल, स्वस्तिमा खड्का, स्ट्यान्ड अप कमेडियन सन्दीप क्षत्री, खेम सेन्चुरी, टेरिया फौजा मगर, स्मिता दाहाल, अञ्जली अधिकारी, शिव परियार, केकी अधिकारीको उपस्थिति हुने आयोजकले जानकारी दिएको छ ।
नेपालको पर्यटन विकासमा टेवा दिन युएईमा रहेका प्रत्येक एक नेपालीले कम्तीमा दुईजना पर्यटक नेपाल पठाउन प्रेरित गर्ने कार्यक्रमको मुख्य नारा रहेको छ । पर्यटनको विकाससँगै नेपालका सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पनि आयोजकले जानकारी दिए ।
दर्शकको सुविधाका लागि युएईका सातै राज्यबाट निःशुल्क यातायात सेवा उपलब्धसमेत गराइएको छ । उक्त कार्यक्रम युएईमा रहेका नेपालीमाझ हुने गरेका नेपाली कार्यक्रममध्ये खर्च, कलाकारको संख्या, हलको क्षमता आदि हिसाबले सबैभन्दा ठूलो कार्यक्रम हो ।