एडिलेड । आगामी मार्चमा अस्ट्रेलियाको एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिट (ओएनएसएम) साउथ अस्ट्रेलिया २०२७ हुँदै छ। आयोजकले प्रेस मिटमार्फत प्रतियोगिताका लागि हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमा रहेर काम गरिरहेका र खेलाडी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएको छ।
सन् २०२७ को मार्च २५ देखि २८ तारिखसम्म एडिलेडमा आयोजना हुने चारदिने प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न राज्य, न्युजिल्यान्डका नेपाली मूलका खेलाडी, पदाधिकारी, समर्थक र समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमका लागि साउथ अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक तथा खेल संस्थाहरुले ऐक्यबद्धता जाहेर गरेका छन्। प्रतियोगितामा क्रिकेट, जुनियर क्रिकेट, फुटबल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, स्विमिङ तथा ट्र्याक एन्ड फिल्ड गरी १० खेल विधा समावेश छन्।
प्रेस मिटमार्फत आयोजकले कार्यक्रमको तयारी, खेल सञ्चालन, स्वयंसेवक परिचालन, खेलाडी दर्ता, प्रायोजन तथा चार दिनसम्म सञ्चालन हुने विभिन्न गतिविधिबारे जानकारी दिएको छ।
सातौँ ओएनएसएमका लागि आयोजकले कोआलालाई मस्कटका रूपमा सार्वजनिक गरेको छ। मिटको मुख्य स्पोन्सर एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज एडिलेड रहेको छ।
‘युनाइटेड बाई हेरिटेज, इन्स्पायर्ड बाई स्पोर्ट’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको सातौँ ओएनएसएमलाई खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नराखी खेल, भाषा, साहित्य, संगीत, संस्कृति र समुदायलाई जोड्ने चारदिने साझा उत्सवका रूपमा स्थापित गर्ने आयोजकको लक्ष्य छ।