नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने टुंगो लाग्ने बताएका छन्। संघीय व्यवस्थामा प्रदेशले पाउनुपर्ने शक्ति र हैसियत नपाएको भन्दै उनले आगामी कार्यकालले यसको भविष्य निर्धारण गर्ने बताएका हुन्।
कांग्रेस प्रदेश सभा क्षेत्रीय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरे। ‘अब आउने पाँच वर्षमा पनि हामीले प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न सकेनौँ भने हामीले ल्याएको, हामीले भनेको, संविधानमा छ भनेर मात्रै यो बाँच्दैन। यो बाँच्ने कि नबाँच्ने भन्ने कुरा हाम्रो कर्ममा भर पर्छ। प्रदेश सरकार टिक्ने कि नटिक्ने भन्नेकुरा अबको पाँच वर्षमा थाहा हुन्छ। यसले काम गर्न सकेन भने यो टिक्दैन,’ थापाले भने।
संघीय सरकारले प्रदेश किन बनाएको भन्ने नबुझ्दा नागरिकले प्रदेशको औचित्य नदेखेकाे उनकाे तर्क छ। अब आउने पाँच वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा हुने जिकिर गर्दै महामन्त्री थापले काम गर्न नसके प्रदेश सरकार नरहने दाबी गरे।