संयुक्त अरब इमिरेट्स (युएई)मा हुने नेपाल इभ टुरिजम टुर–२०२२ को तयारी पूरा भएको छ। ब्लु चिप ग्रुप अफ कम्पनी र ड्रिम हाई नेपालको संयुक्त आयोजनामा अगस्ट २१ आइतबार दुबईको वर्ल्ड ट्रेड सेन्टरस्थित शेख रसिद हलमा कार्यक्रम हुँदैछ।
शुक्रबार दुबईमा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट कमल जिसी, ज्ञानेन्द्र कार्की, भीम मल्ल ठकुरीको उपस्थिति थियो। पत्रकार सम्मेलनमा कार्यक्रमका लागि युएई आएका अभिनेता राजेश हमाल पत्नी मधुसहित उपस्थित थिए। हमालले नेपाल इभ टुरिजम टुर– २०२२ मा उपस्थित हुन युएईमा रहेका नेपालीलाई अनुरोध गरे।
नेपालको कला संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गरी नेपालमा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा प्रस्तुति दिन विभिन्न विधाका एक दर्जनभन्दा बढी नेपाली कलाकार दुबई आइपुगेका छन्।
गायिका सुनिता दुलाल, स्मृति दाहाल, स्वस्तिमा खड्का, स्ट्यान्ड अप कमेडियन सन्दीप क्षेत्री, खेम सेञ्चुरी, टेरिया फौजा मगर, स्मिता दाहाल, अञ्जली अधिकारीलगायत युएई आइसकेका छन् भने शिव परियार र केकी अधिकारी शनिबार नै यहाँ आइपुग्ने बताइएको छ।
नेपालको पर्यटन विकासमा टेवा दिन युएईमा रहेका एक नेपालीले कम्तीमा दुई पर्यटक नेपाल पठाउन प्रेरित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ।
दर्शकहरूको सुविधाका लागि युएईको सातै राज्यबाट निःशुल्क यातायात सेवा उपलब्ध गराइएको बताइएको छ। कार्यक्रममा नेपाली कला र संस्कृति झल्कने प्रस्तुतिहरू रहने आयोजकले बताएको छ।