फेसन टिप्स
तिजको मौसममा साडीको बिक्री पनि बढ्ने गर्छ । विशेषगरी गुलाबी, कलेजी, सिम्रिकलगायत रातो रंगका साडीहरू यस चाडमा बिक्छन् । किनकि, रातो रंगको हाम्रो संस्कृतिमा विशेष महत्व छ । त्यसपछि चल्ने भनेको हरियो कलर हो, डार्क, लाइट ग्रिन र महेन्दी कलरका साडीहरू पनि धेरै महिलाले रुचाउनुहुन्छ ।
नेपाली बजारमा बुटिक र डिजाइनरमार्फत जाने हो भने साडीको मूल्य २० हजारभन्दा माथि नै हुन आउँछ । प्लेन र सिम्पल साडी आठदेखि १० हजारमै पनि आउँछ । साडी तथा लेहेंगामा ह्यान्डवर्कअनुसार बुटिकको मूल्य बढी हुन जाने हो । सादी, भर्कन, कोरा, पोतेलगायत मिसाएर काम गर्नुपर्ने हुन्छ । महँगा साडीका लागि डिजाइनरले प्लानिङ धेरै गरेको हुन्छ, मिहिनेत धेरै लाग्छ ।
यस्ता साडीहरू प्रायः विवाहको मौसममा बिक्छन् । अझै बेहुलीका लागि विशेष साडीको अर्डर आउने गर्छ । कुन कलर म्याच गर्छ, कुन कलरले वास्तुअनुसार शुभ लगन दिन्छ, पृष्ठभूमिको डिजाइन, मण्डपको डिजाइन आदि हेरेर बेहुलीको साडी डिजाइन गरिएको हुन्छ । मैले आफैँ विवाहको मौसममा डेढदेखि दुई लाखसम्मको साडी बेचेको छु । तिजमा प्रायः सिम्पल साडीको माग हुन्छ । मेरो अनुभवमा कसै–कसैले लाइट्ली ह्यान्डवर्क भएको रुचाउनुहुन्छ । साडीहरूमा बुट्टा लगाउँदा लालीगुराँस राखेर, उज्यालो दिने प्रिन्टहरू राखेर बनाउन अर्डर दिनुहुन्छ ।
यस चाडमा महँगा गहना लगाउने भएकाले पनि साडी ठिकैखाले भए चल्छ भन्ने सोच आएको हुन सक्छ । सिम्पल साडीमा झुकाव धेरै हुनुको अर्को कारण तिजमा गरिने अत्यधिक नाचगान पनि हो । साडी जस्तो लगाए पनि ब्लाउजसँग कलर कम्बिनेसन भने मिलाएर लगाउनुपर्छ ।
तिजमा पातला साडी
नेपाली बजारमा सिफन, जर्जेट, भेल्भेट, ढाका, बनारसीलगायत साडीहरू चर्चित छन् । तिजको मौसममा गर्मी हुने भएकाले धेरैले पतलो साडी खोज्छन् ।
जर्जेट
यो सिफनभन्दा अलिकति मोटो र खस्रो हुन्छ । तर, पातलै साडीको श्रेणीमा पर्छ बिहे र अन्य कामहरूमा ह्यान्डवर्क गर्नका लािग यो राम्रो र पारदर्शी हुन्छ । हाम्रो समाजमा यसको प्रयोग पनि अत्यधिक छ ।
साटिन सिल्क
यो साइनिङ दिने र टल्किने कपडा हो । यसले शीतल अनुभव पनि गराउँछ । हेर्नेलाई पनि शीतल फिल हुन्छ । बढी चिल्लो पनि भएकाले आकर्षक पनि हुन्छ । मानिसको ध्यान सजिलै आकर्षित गर्ने भएकाले यो साडी पनि धेरैले लगाउँछन् ।
नेट
नेट अति पारदर्शी हो । नेट लगाउँदा साइनिङ भएकाले धेरैले साटिन सिल्कको नेट लगाउन रुचाउँछन् ।
टिस्यु
टिस्युचाहिँ नेटभन्दा अलिकति मोटो हुन्छ । यो हेर्दा प्लास्टिकजस्तो पनि देखिन्छ । यो पनि पारदर्शी हुन्छ ।
ढाका
ढाका हाम्रो मौलिक ब्रान्ड हो । मोटो साडी भएकाले यसको प्रयोग प्रायः जाडोमा हुन्छ । तर, अहिले बजारमा ढाकाका पातला ब्रान्डहरू पनि छन्, जो गर्मीमा लगाउन पाइन्छ । विवाह तथा विभिन्न महोत्सवहरूमा यो साडीको माग उच्च हुने गर्छ । त्यस्तै, सिफन, जर्जेटलगायत साडीमा ढाकाको बोर्डर प्रिन्ट गरेर लगाउनेहरूको संख्या पनि ठूलो छ ।
बनारसी
हाम्रो कल्चरअनुसार यो विवाहमा धेरै लगाइन्छ । विवाहमा दुलही बनारसी साडी लगाउने चलनजस्तै भइसक्यो । कुमारीले पनि यस्तै खालको कपडा लगाउँछन् । यो हाम्रो कल्चरजस्तै भइसक्यो ।
सिफन
यो पहिल्यैदेखि चलेको कपडा हो, मुलायम र पातलो हुने भएकाले गर्मीमा यसलाई लगाउन सजिलो हुन्छ । यसलाई ड्राई गरेरजस्तो कलरमा पनि बनाउन सकिन्छ ।