सन् २०२२ फिफा विश्वकपको वर्ष । नोभेम्बर २० बाट कतार विश्वकप सुरु हुँदै छ । यसपटक निर्धारित समयभन्दा ढिला गरी विश्वकप सुरु हुनेछ । तर, युरोपका चर्चित लिग रोकिनेछैनन् । विश्व चर्चित इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वान सुरु भइसकेका छन् ।
विश्वकप र युरोपियन लिगअघि खेलाडी ट्रान्सफर विन्डो बजार निकै तातिसकेको छ । खेलाडी ‘ट्रान्सफर’ गर्न क्लबहरूबीच घम्साघम्सी नै चलिरहेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, आर्सनल र स्पेनिस क्लब बार्सिलोना निकै आक्रामक देखिए ।
एर्लिङ हाल्यान्ड, डर्टमन्डबाट म्यानचेस्टर सिटी
सिजन २०२२–२३ सरुवा बजारको ठूलो नाम हो, एर्लिङ हाल्यान्ड । जर्मन क्लब बोरुसिया डर्टमन्डका ६ फिट पाँच इन्चका २२ वर्षीय हाल्यान्डलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले ५७ मिलियन पाउन्डमा भित्र्याउन सफल भयो । स्टार खेलाडी सर्जियो अर्गुएरो बार्सिलोना पुगेपछि मुख्य स्ट्राइकरको कमीमा प्रिमियर लिग देखिएको छ । साबिक लिग च्याम्पियन म्यानचेस्टरले हाल्यान्डका लागि पैसाको खोलो बगाउन तयार थियो । विश्वका ठूला क्लबले आँखा लगाइरहेको हाल्यान्डबाट भित्र्याएको सिटीले यसपटक युइएफए च्याम्पियन्स लिग र प्रिमियर लिगमा ठूलो आशा गरेको छ । नर्वेका स्ट्राइकरले साल्जबर्गबाट डर्टमन्ड आएयता ६७ खेलमा ६२ गोल गरेका थिए । प्रिमियर लिगको डेब्यु खेलमै दुई गोल गर्दा सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–० ले पराजित गर्यो ।
रोबर्ट लेवान्डोस्की, बायर्न म्युनिखबाट बार्सिलोना
आर्थिक संकटले गत सिजन निराशाजनक प्रदर्शन गरेको स्पेनिस क्लब बार्सिलोना यसपटक खेलाडी सरुवा बजारमा निकै आक्रामक देखियो । सोहीअनुसार बार्सिलोनाले आफ्नो अट्याकिङ लाइन बलियो बनाउन स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई भित्र्याएको छ । जर्मन क्लब बायर्न म्युनिखबाट ४२.५ मिलियन पाउन्डमा बार्सिलोना रोबर्टो क्लबमा आएका छन् । डर्टमन्डबाट म्युनिख आएयता लेवान्डोस्कीले दुई सय ५३ खेलमा दुई सय ३८ गोल गरेका छन् । बार्सिलोनाको डेब्यु खेलमा लेवान्डोस्की गोलविहीन रहे । लेवान्डोस्कीले पोल्यान्ड राष्ट्रिय टोलीबाट एक सय ३२ खेलमा ७६ गोल गरेका छन् ।
डार्विन नुनेज, बेफिन्काबाट लिभरपुल
स्टार खेलाडी साडियो मानेले क्लब छाडे पनि लिभरपुलले उरुग्वेका युवा स्ट्राइकर डार्विन नुनेजलाई भित्र्याउन सफल रह्यो । बेन्फिकाका नुनेजलाई लिभरपुलले ६४ मिलियन पाउन्डमा अनुबन्ध गर्यो । २३ वर्षीय खेलाडीका सुरुवाती दुई खेल औसत रहे । अन्तिम खेलमा क्रिस्टल प्यालेसविरुद्ध रातो कार्डको सामना गरेका थिए । यद्यपि, उनले डेब्यु खेलमै फुलह्यामविरुद्ध २–२ को बराबरी खेल्दा एक गोलसहित एक असिस्ट उपलब्ध गराए । नुनेजले उरुग्वेको यु–२० र यु–२० बाट खेल्दै पोर्चुगिज क्लब बेन्फिका पुगेका थिए । उनले दुई वर्ष रहँदा ५७ खेलमा ३२ गोल गरे । उनको आगमनसँगै लिभरपुलले अग्रपंक्ति बलियो हुने अनुमान गरेको छ ।
ग्राबियल जेसुस, म्यानचेस्टर सिटीबाट आर्सनल
गत सिजन म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि जिताएपछि ग्राबियल जेसुसले पेप ग्वार्डिओलाको टोलीमा बस्न ठीक ठानेनन् । पछाडि कुरा थियो, सिटीले एर्लिङ हाल्यान्ड भित्र्याएको । यसपछि प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनल जेसुुसलाई लन्डन भित्र्याउन तयार भयो । २५ वर्षीय ब्राजिलका फरवार्डले आर्सनल आएपछि नै धमका मच्चाउन सुरु गरेका छन् । दोस्रो खेलमा लेस्टर सिटीविरुद्ध सानदार ४–२ को जित निकाल्दा जेसुसले दुई गोल गरे । आर्सनलले जेसुसको आडमा उपाधिमा समेत आँखा लगाएको छ । जेससले ब्राजिलका लागि ५६ खेलमा १९ गोल गरेका छन् । यस्तै, गत सिजन सिटीका लागि एक सय ५९ खेलमा ५८ गोल गरे ।
क्रिस्टियन इरिक्सन, ब्रन्टफोर्डबाट म्यानचेस्टर युनाइटेड
डेनमार्कमा मिडफिल्डर यस सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भए । गत सिजन ब्रेन्टफोर्डमा खासै जम्न नसकेका ३० वर्षीय खेलाडी युनाइटेडमा आफूलाई प्रमाणित गर्ने अवस्थामा छन् । यद्यपि, क्लबको सुरुवात सन्तोषजनक छैन । २०२० को युरोकपमा मैदानमा अचेत भई ढलेका इरिक्सन पुनः मैदान फर्किएका छन् । युनाइटेडमा इरिक्सनको २०२५ सम्म सम्झौता छ । प्रिमियर लिगमा दुई सय ३७ खेल खेल्दा उनले ५२ गोल गर्दा ७१ असिस्ट गरेका छन् ।
साडियो माने, लिभरपुलबाट बायर्न
सेनेगलका स्ट्राइकर लिभरपुल छाडेर बायर्न म्युनिख पुगेका हुन् । मोहम्मद सलाहसँगको सहकार्यपछि म्युनिख पुगेका मानेले नयाँ कीर्तिमान बनाउन चाहन्छन् । क्लबका स्टार खेलाडी रोबर्टाे लेवान्डोस्की बार्सिलोना पुगेपछि बायर्नले २० वर्षीय मानेलाई रोजेको हो । बायर्नमा दुई खेल खेल्दा एक गोलसमेत गरिसकेका छन् । यसअघि लिभरपुललाई प्र्रिमियर लिग उपाधि जिताएका मानेले पाँच वर्ष एनफिल्डमा रहँदा एक सय ९६ खेलमा ९० गोल गर्दा राष्ट्रका लागि ९१ खेलमा ३३ गोल गरेका छन् ।
पाउल पोग्वा, म्यानचेस्टर युनाइटेडबाट युभेन्ट्स
गत सिजन म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शनसँगै पाउल पोग्वा ओल्ड ट्राफोर्ड बस्न चाहेनन् । २९ वर्षीय पोग्वा पुनः पूर्वक्लब युभेन्ट्स फर्किए । युभेन्ट्सको पनि गत सिजन सुखद रहेन । यद्यपि, पोग्वा नयाँ जोसका साथ पुरानो क्लब फर्किएका छन् । ६ वर्ष युनाइटेड रहँदा मिडफिल्डर पोग्वाले एक सय ५४ खेलमा २९ गोल गरे । फ्रान्सेली मिडफिल्डर पोग्वा यसअघि २०१६ मा युनाइटेड आएका थिए । सान सिरोमा पोग्वा पुनः आफूलाई प्रमाणित गर्दै फिफा विश्वकपमा फ्रान्स टोलीमा नाम सुरक्षित गर्न चाहन्छन् ।
(एजेन्सीको सहयोगमा)