सेयरमा हिस्सा बढाउँदै माइक्रो फाइनान्स र जलविद्युत्

बजारको सबैभन्दा ठूलो हिस्सा ओगटेको बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा अहिलेकै तुलनामा मात्र बढ्ने हो भने अबको केही वर्षमै जलविद्युत् र माइक्रो फाइनान्सको हिस्सा दोब्बर हुने

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

नेप्सेमा सूचीकृत कम्पनीका समूहको बजार हिस्सा पछिल्लो समय धितोपत्र बजारमा माइक्रो फाइनान्स र जलविद्युत् समूहले आफ्नो सेयर हिस्सा बढाउँदै लगेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार बजार पुुँजीकरण र थपिएको कम्पनीको सेयर संख्याका आधारमा सेयर बजारमा यी दुुई समूूहको सेयर हिस्सा वाणिज्य बैंकको तुुलनामा बढ्दै गएको हो ।

सेयर बजारमा सबैभन्दा ठूलो सेयर हिस्सा वाणिज्य बैंकको छ । तर, पछिल्ला वर्षहरूमा वाणिज्य बैंकहरूको सेयर हिस्सा घट्दै जाँदा माइक्रो फाइनान्स समूूह र जलविद्युुत् समूूहको सेयर हिस्सा बढ्दै गएको हो । पछिल्लो आवमा माइक्रो फाइनान्स समूहको ११ दशमलव ६ प्रतिशतले सेयर हिस्सा बढेको छ । यसअघि आर्थिक वर्ष ०७७/७८ मा ९ दशमलव ५ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष ०७६/७७ मा ९ दशमलव ३ प्रतिशत रहेको थियो । यस तीन वर्षको समयमा वित्तीय संस्थाको संख्या ४९ बाट ५४ पुुगेको छ । यस समूूहको तीन वर्षमा बजार पुुँजीकरण एक खर्ब ६६ अर्बबाट बढेर तीन खर्ब ३२ अर्ब रुपैयाँ पुुगेको छ । 

त्यसैगरी, जलविद्युत् समूहले पनि धितोपत्र बजारमा आफ्नो हिस्सा बढाउँदै लगेको छ । जलविद्युुत् कम्पनीको संख्या थपिइरहँदा यो समूहको पनि आफ्नो हिस्सा बढ्दै गएको हो । तीन वर्षको अवधिमा जलविद्युत् समूहका ३३ वटा सूचीकृत कम्पनी रहेकोमा यस वर्षको असार मसान्तसम्म आइपुग्दा ५१ वटा पुगेका छन् । हाल सेयर बजारमा जलविद्युुत् समूूहले ११ प्रतिशतले बजार हिस्सा ओगट्दै तेस्रो ठूलो समूह बन्ने दाउमा छ । यो समूहको हिस्सा आव ०७६/७७ मा ५ दशमलव ४ प्रतिशत रहेको थियो भने ०७७/७८ मा आइपुुग्दा यस समूूहको हिस्सा बढेर ८ दशमलव ४ प्रतिशत पुुगेको थियो ।

तीन वर्षअघि यस समूूहको बजार पुँजीकरण ९७ अर्ब २५ करोड रहेकोमा हाल तीन खर्ब १४ अर्ब रुपैयाँ पुुगेको छ । नेपाल धितोपत्र बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिनेको संख्या जलविद्युत् कम्पनीकै धेरै रहेको छ । हाल कुल २८ वटा कम्पनीले बोर्डमा निष्कासनका लागि अनुुमति मागेकामध्ये १६ वटा जलविद्युुत् कम्पनीको मात्रै छन् । बोर्डका अनुसार जलविद्युत् कम्पनीको तीन अर्ब ८७ करोड मूूल्यबराबरको तीन करोड ८७ लाख कित्ता सेयर निष्कासनका लागि स्वीकृतिको प्रतीक्षामा रहेका छन् । 

वाणिज्य बैंकको सेयर हिस्सा भने घट्दो क्रममा रहेको छ । तीन वर्षअघि वाणिज्य बैंकको सेयर हिस्सा ४८ दशमलव ५ प्रतिशत रहेको थियो भने असार मसान्तसम्म आइपुग्दा ३६ दशमलव ७ प्रतिशतमा खुुम्चिएको छ । तीन वर्षअघि आठ खर्ब ६३ अर्ब रहेको बजार पुुँजीकरण हाल १० खर्ब ५३ अर्ब रुपैयाँ पुगे पनि यसको वृद्धिदर अन्य समूहको जस्तो छैन । नेपाल स्टक एकचेन्जका प्रवक्ता मुराहरि पराजुुली जुनसुकै समूहको बजार हिस्सा बढ्दै गए पनि सकारात्मक रहेको बताउँछन् । 

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा सबैभन्दा बढी रहेको छ । बैंक तथा वित्तीय संस्था र बिमा समूह गरी सेयर हिस्सा ६७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६ दशमलव ९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ दशमलव ३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ० दशमलव ४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८ दशमलव ५ प्रतिशत रहेको छ ।

 एक वर्षमा २३ अर्बभन्दा बढीको साधारण सेयर
एक वर्षमा २३ अर्ब २८ करोड रुपैयाँको साधारण सेयर निष्कासन भएको छ । नेपाल राष्ट्र बैंकको आव ०७८/७९ को प्र्रतिवेदनअनुुसार एक वर्षमा ८९ अर्ब ५० करोड रुपैयाँबराबरको विकास ऋणपत्र, ५५ अर्ब ८९ करोड रुपैयाँबराबरको बोनस सेयर, ५३ अर्ब २२ करोड रुपैैयाँबराबरको डिबेन्चर, ११ अर्ब ९७ करोड रुपैयाँबराबरको हकप्रद सेयर र तीन अर्ब ७५ करोड रुपैयाँबराबरको म्युचुअल फन्ड गरी एक वर्षमा दुई खर्ब ३७ अर्ब ६१ करोड रुपैयाँबराबरको थप धितोपत्र नेप्सेमा सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा बोर्डले १२ अर्ब ४८ करोड रुपैयाँबराबरको डिबेन्चर, सात अर्ब २० करोड रुपैयाँबराबरको साधारण सेयर, ६ अर्ब २० करोड रुपैयाँबराबरको म्युचुअल फन्ड, चार अर्ब ७९ करोड रुपैयाँबराबरको हकप्रद सेयर गरी कुल ३१ अर्ब ३७ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

 बजार पुँजीकरण १२ खर्बमा खुम्चियो
सेयर बजारमा आएको गिरावटसँगै बजार पुँजीकरण खुम्चिन पुगेको छ । एक वर्षमा नेप्से परिसूचक आठ सय ७३ अंकले घट्दा बजार पुुँजीकरणमा पनि घटेको हो । बजार पुँजीकरण करिब १२ खर्ब रुपैयाँले घटेको छ । ०७८ असार मसान्तमा नेप्से परिसूचक दुई हजार आठ सय ८३ दशमलव ४ बिन्दुमा रहेको थियो भने ०७९ को असार मसान्तमा आइपुग्दा दुई हजार नौ दशमलव ५ बिन्दुमा बन्द भएको थियो । हाल यसबीचमा नेप्से परिसूचक दुई हजार एक सय सूचकांक परीक्षण गरेर पुनः दुई हजार सूचांकमै रहेको छ । बजारमा आएको गिरावटले बजार पुँजीकरण खुम्चिन पुगेको हो । ०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब रहेको छ । ०७८ को असार मसान्तमा बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रहेको थियो ।  त्यस्तै, ०७९ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ३४ पुगेको छ । 

१० ब्रोकर कम्पनीका १५ शाखा स्वीकृत
नेपाल धितोपत्र बोर्डले १० ब्रोकर कम्पनीको १५ शाखा सञ्चालन गर्न अनुमति दिएको छ । बोर्डले शाखा विस्तार गरेका १० ब्रोकर कम्पनीलाई बुधबार पत्र पठाएर शाखामा कारोबार सुचारु गर्न लिखित अनुमति दिएको हो ।बोर्डले अनलाइन सेक्युरिटिज प्रालिलाई दुईवटा, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिलाई दुईवटा, दीपशिखा धितोपत्र कारोबार कम्पनीलाई तीनवटा शाखा खोल्नका लागि अनुमति दिएको छ । 

त्यसैगरी, मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनीले दुई स्थानमा, सेक्योर्ड सेक्युरिटिजले एक स्थानमा, त्रिशूल सेक्युरिटिज प्रालिले एक स्थानमा र अक्सफोर्ड सेक्युरिटिज प्रालिलाई एक स्थानमा, दिव्य सेक्युरिटिज एन्ड स्टक हाउस प्रालिलाई एक स्थानमा, जेएफ सेक्युरिटिज कम्पनीलाई एक स्थानमा र डाइनामिक मनी म्यानेजर्स प्रालिलाई एक स्थान गरी १५ स्थानमा शाखा विस्तारको अनुमति दिएको छ । बोर्डको पत्र पाएसँगै शाखा स्थापना गरेका १० ब्रोकरले केही दिनमै कारोबार सुचारु गर्ने बताएका छन् । 

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले करिब डेढ दर्जन शाखा स्थापनाका लागि सैद्धान्तिक सहमति दिएका थिए । ढुंगाना विवादमा तानिएपछि रोकिएको उक्त प्रक्रियालाई नयाँ अध्यक्ष रमेशकुमार हमाल नियुक्त भएसँगै अगाडि बढाइएको हो । अनुमति पाएका १० ब्रोकरको १५ शाखालाई असारमै अबलोकनको सकाएर बुधबार औपचारिक कारोबारका लागि अनुमति दिएको धितोपत्र बोर्डका सूचना अधिकारी अम्बिका गिरीले जानकारी दिए । ‘शाखा विस्तारको अनुमति पाएका ब्रोकर कम्पनीलाई औपचारिक पत्र पठायौँ, अब कारोबार सुचारु गर्न सक्नेछन्,’ उनले भने ।

सेयर बजारको पहुँच नपुगेको ठाउँमा विस्तार गर्न शाखा सञ्चालनको अनुमति दिएको बोर्डका अध्यक्ष हमालले बताए । उनले भने, ‘प्रस्ताव धेरै आए पनि आवश्यकताका आधारमा र पहुँच नपुगेको ठाउँमा बजार विस्तारका लागि दिइएको हो ।’०७६ सालअघि नेपाल स्टक एक्सचेन्ज आफैँले ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन पाउने व्यवस्था थियो । सोही व्यवस्थाअन्तर्गत नेप्सेले १७ जिल्लामा ४१ शाखा सञ्चालनका लागि अनुमति दिइसकेको थियो । ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, ०६४’ को तेस्रो संशोधन गरेर नेप्सेको अधिकार धितोपत्र बोर्डले आफूमातहत ल्याएपछि अहिले बोर्डबाटै अनुमति दिँदै आएको छ । यसरी १ फागुन ०७६ मा बोर्ड आफैँले ब्रोकरलाई शाखा स्थापनाको अनुमति दिन थालेको हो । सोही व्यवस्थाबमोजिम पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको पालामा थप ६ वटा शाखा सञ्चालनका लागि बोर्डले अनुमति दिएको थियो । पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको पालामा १४ वटा ब्रोकरलाई २३ वटा शाखा स्थापनाका लागि प्रक्रिया सुरु गरिएको थियो । जसअनुसार चारवटा ब्रोकरले सात स्थानमा शाखा सञ्चालनका लागि अनुमति पाइसकेका छन् ।

बोर्डमा एक सय ४६ वटा शाखाका लागि आवेदन प्राप्त भएको र आवश्यक प्रक्रिया पु¥याएको१० ब्रोकरलाई १५ वटा शाखा विस्तार अनुमति दिएको छ । थप १० ब्रोकर कम्पनीले अनुमति पाएसँगै नेपालभर ब्रोकर शाखाको संख्या ७४ पुगेको हो । त्यसमध्ये ५० ब्रोकर कम्पनीसहित नेपालमा ब्रोकरको संख्या एक सय २४ पुगेको छ ।
 

सुझावित समाचार