नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गरे । उनले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताए ।
पार्टीमा व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन देखिएको भन्दै उनले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्नेतिर नभई आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको बताए । उनले सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गरे ।
उनले पार्टीका नेताहरूको मुखमा क्रान्तिकारी रहे पनि व्यवहार, आचरण, दैनिकीमा नरहेको बताए । अध्यक्ष प्रचण्डले यस्ता व्यक्तिवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको जानकारी दिए ।
उनले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरविरोधलाई हल गर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी गरे ।
उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए । पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेकाेमा उनले जाेड दिए ।