पाठकको प्रश्न : नेपालमा उद्योग स्थापना गर्न के–के गर्नुपर्छ ? दर्तादेखि सञ्चालनको प्रक्रिया के हो ? कहाँ–कहाँ जानुपर्छ ?
भगीरथ खत्री, नयाँ ठिमी
विज्ञको जवाफ : पूर्णिमा उपाध्याय निर्देशक, उद्योग विभाग
उद्योग स्थापनाका प्रक्रियाका विषयमा जानकारी राख्नुभएकोमा धेरै–धेरै धन्यवाद । हाम्रो विभागको वेबसाइटमा पनि यस विषयमा धेरै जानकारी राखिएका छन् । नेपालको औद्योगिक व्यवसाय ऐन, २०७३ ले उद्योगको परिभाषा गर्दै त्यसको दर्तादेखि सञ्चालनका प्रक्रियाको व्यवस्था गरेको छ ।
ऐनबमोजिम दर्ता नगराई उद्योग स्थापना तथा सञ्चालन गर्न मिल्दैन । यदि तपाईं उद्योग स्थापना गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईंले उद्योग दर्ता गराउनुपर्ने हुन्छ । त्यसका लागि तपाईंले तोकिएका कागजात र ढाँचामा उद्योग विभाग वा घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । उद्योग विभागमा उद्योग दर्ता अनलाइनमार्फत पनि गराउन सकिन्छ । अझ, लघु उद्यम र घरेलु उद्योग भने स्थापना भई सञ्चालनमा आएको ६ महिनाभित्रमा दर्ता गर्नसमेत सकिन्छ ।
कम्पनीको रूपमा दर्ता गराउने हो भने पहिला कम्पनी रजिस्ट्रारको कार्यालयमा जानुपर्छ । फर्मका रूपमा दर्ता गराउँदा विभाग वा कार्यालयमा सोझै जाँदा हुन्छ । पहिला १० करोडभन्दा कम पुँजीका उद्योग मात्रै कार्यालयमा दर्ता हुन्थ्यो, त्योभन्दा ठूला उद्योगका लागि विभागमै आउनुपथ्र्यो । तर, अहिले अनुमति लिनुपर्ने सूचीमा रहेका उद्योगबाहेकका हकमा जतिसुकै लगानीका उद्योग पनि कार्यालयबाटै दर्ता गर्न सकिन्छ ।
तर, मदिरा, खानीजन्यलगायत ९–१० ओटा उद्योगका लागि भने औद्योगिक प्रवद्र्धन बोर्डबाट अनुमति लिनुपर्छ । ऐन र नियमावलीअनुसारको प्रक्रिया पूरा गरेर निवेदन दिएको १५ दिनभित्रै उद्योग दर्ता गरी प्रमाणपत्र दिनुपर्छ । तर, सामान्यतः सात दिनभित्रै दर्ता प्रमाणपत्र दिइरहेका छौँ । सरकारले उद्योग सञ्चालनका लागि विभिन्न छुट तथा सुविधाको पनि व्यवस्था गरेको छ ।