ट्राफिक नियम उल्लंघन गर्ने ११८ विद्यार्थी कारबाहीमा

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण
ट्राफिक नियम उल्लंघन गर्ने ११८ विद्यार्थी कारबाहीमा

फाइल तस्बिर

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान कलेजका विद्यार्थीलक्षित ट्राफिक चेकजाँच गर्दा ११८ जना कलेजका विद्यार्थी कारबाहीमा परेका छन् । प्रहरीको चेकजाँचमा सवारीचालक अनुमति-पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीनजना सवार ७ जना विद्यार्थीहरू कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै, हेल्मेट नलगाई सवारीसाधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १० जना गरी १ सय १८ जना विधार्थीहरू कारबाहीमा परेका हुन्। कारबाहीमा पर्ने विद्यार्थीहरूमा सबै दुईपांग्रे सवारीसाधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गतवर्ष काठमाडौं उपत्यकाभित्र १० हजार ७ सय ३३ वटा सवारीसाधन दुर्घटना भएका छन् । जसमध्ये ८ हजार ३ सय ६४ वटा दुईपांग्रे सवारीसाधन रहेका छन्। सवारी दुर्घटनामा परी १ सय ९१ जनाको मृत्यु हुँदा दुईपांग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा अधिकांश दुईपांग्रे सवारीसाधन प्रयोगकर्ता रहेका छन् । उमेर समूहका आधारमा हेर्ने हो भने १७ वर्षदेखि ३५ वर्षसम्मका मानिस दुईपांग्रे सवारीसाधन प्रयोगकर्ता रहेका छन् । सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारीसाधन देखिएकोले दुर्घटना न्यूनीकरण गर्नको लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लंघन गर्नेलाई कारबाही गर्न सुरु गरेको हो । 
 

सुझावित समाचार