एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन लागि परेको छ : अध्यक्ष ओली

शनिबार, २८ साउन, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनबाट रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको दाबी गरेका छन् । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जनता दृढ रहेको जिकिर गरे । 

सेना र प्रहरीसमेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागिरहेको आरोप लगाए । ‘एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास । यो गठबन्धन, सहठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो । बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो,’ उनले भने । 

देशको मुहार फेर्नका लागि नेकपा एमालेलाई जिताउनुपर्ने उनको दाबी थियो । अध्यक्ष ओलीले देशलाई माथि उठाउनका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प नभएकोसमेत जिकिर गरे । उनले आफूले जस्तो राज्यको नाममा सम्पूर्ण चल, अचल सम्पत्ति दान गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालाई चुनौती पनि दिए । 

सुझावित समाचार