अन्तिम चरणमा रुकुमगाड जलविद्युत आयोजना

शनिबार, २८ साउन, २०७९
डिजिटल संस्करण

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधिन रुकुमगाड जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ५ मेगावाट क्षमताको उक्त आयोजना अबको ६ महिनाभित्रमा सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । यो आयोजना राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनअन्तर्गत भइरहेको छ । अहिले पाइपलाइन र पावरहाउसमा मेसिन जडानको काम चलिरहेको राप्ती हाइड्रोका जनसम्पर्क अधिकृत धीरेन्द्रप्रकाश शाहले जानकारी दिए । २.५ किलोमिटर लामो पाइपलाइनमध्ये अब थोरै मात्र काम बाँकी रहेको उनले बताए । 

उनका अनुसार अहिलेसम्म पावरहाउसका लागि घर निर्माण, इन्टेक निर्माण र आयोजनाको पाउरहाउसदेखि रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा रहेको सबस्टेसनसम्म पोल तथा तारको काम सम्पन्न भइरहेको छ । ठूलो समस्या केही नभएमा आगामी पुससम्ममा बत्ती बालिसक्ने लक्ष्य राखिएको जनसम्पर्क अधिकृत शाहले बताए । अहिले बाँकी रहेको पाइपलाइनको काम र पावरहाउसमा मेसिन जडानको काम भइरहेको उनको भनाइ छ । त्यस्तै, अन्य मर्मतको काम पनि जारी छ । करिब एक अर्ब लागतमा यस आयोजनाको निर्माण हुन लागेको हो । 

विभिन्न ठेकेदार कम्पनीले आयोजनाको काम गरिरहेका छन् । सिभिलतर्फको काम एटिसी–कवीन्द्र जेभी, पोल र तारको काम सिंह कन्ट्रक्सन, नर्थ हाइड्रोले पाइपलाइनको काम र इन्डियन बिएसएल कम्पनीले मेसिनको जिम्मा लिएको छ । आयोजनाको काम २०७६ बाट सुरु भएको हो । कोभिडलगायतका कारणले आयोजनाको काममा असर पुगेको बताइएको छ । यस आयोजनाबाट उत्पादित विद्युत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा अवस्थित सबस्टेसनमा ल्याइनेछ ।
 

सुझावित समाचार