सर्लाहीका साहुकार परदेशीविरुद्ध चार करोड बिगो दाबीसहित मुद्दा

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

सर्लाहीका खुँखार मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । सोझा गाउँलेलाई ऋण लगाएर महँगो ब्याज असुल्ने साह र पत्नी मञ्जु देवीसमेतलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । 

२० साउनमा दर्ता भएको मुद्दामा साहविरुद्ध तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ र पत्नी मञ्जुविरुद्ध ६५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ गरी कुल तीन करोड ८६ लाख ५८ हजार बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण कानुनअनुसार बिगोको दोब्बर जरिवानासमेत माग दाबी विभागले गरेको छ । 

साहले गाउँका विपन्नलाई आफू, पत्नी, छोरा–बुहारी, छोरी–ज्वाइँका नाममा ऋण लगानी गर्ने, त्यसको चक्रवर्ती ब्याज असुल गर्ने गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । साहले एउटै ऋणमा ऋणीका आफन्त, नातागोतासमेतलाई झुक्याएर किर्ते तमसुक गराउने, ऋण लिएभन्दा पाँच गुणासम्म बढाएर कागजपत्र बनाउने, तिरेको ऋणको निस्सा नदिएर ऋण कायम गर्नेजस्ता ठगी गरेको विभाग बताउँछ । उनीविरुद्ध विभागले २५ पृष्ठको अभियोग अदालतमा पेस गरेको छ । 

साहविरुद्ध सर्लाही प्रहरीले यसअघि नै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा चलाइसकेको छ । त्यसमा सम्पत्ति शुद्धीकरणसमेत गरेको देखिएपछि प्रहरीले उक्त कसुरमाथि अनुसन्धान गर्न विभागलाई सूचना प्रवाह गरेको थियो । उजुरीउपर साहमाथि विभागले दुई वर्ष लामो छानबिन र अनुसन्धान गरेको छ । साह भने ठगी मुद्दामा अहिले पनि जेलमा छन् । सोझा जनतालाई ऋणको पासोमा पार्ने उनी अब कसुर प्रमाणित भए सम्पत्ति शुद्धीकरणको कडा कानुनअनुसार अरू अधिकतम १० वर्ष जेल बस्नुपर्नेछ । 

विभागले अदालतमा दर्ता गरेको अभियोगपत्रअनुसार साहले गाउँका ४८ जनालाई एक करोड एक लाख ९२ हजार ऋण लगानी गरेका थिए । उक्त रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ गरी एक करोड ५३ लाख ३१ हजार अतिरिक्त आर्जन गरेको आरोपपत्रमा उल्लेख छ । ऋण लगानी र त्यसबाट गरेको ठगीसमेत जोड्दा आउने दुई करोड ५५ लाख २३ हजार तथा त्यसैबाट जोडेका अन्य चलअचल सम्पत्तिसमेतको कुल तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ साहले सम्पत्ति शुद्धीकरण गरेको विभागको ठहर छ । यही रकमलाई बिगो कायम गरेर विभागले साहविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को व्यवस्थाबमोजिम मुद्दा दायर गरेको हो । 

पत्नी मञ्जुको हकमा भने उनको नामको घरजग्गातर्फ लगानी मूल्यांकन र बैंकको मौज्दातसमेत गरी ६५ लाख ६५ हजार तीन सय ५५ बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण ऐनको व्यवस्थाअनुसार बिगोका अतिरिक्त जरिवाना, सम्पत्ति जफत र कैद सजाय मागको दाबी गरिएको छ ।

सुझावित समाचार