पुल नबन्दा यात्रा जोखिमपूर्ण

सोमबार, २३ साउन, २०७९
डिजिटल संस्करण

हुलाकी सडकअन्तर्गत कन्काई र बिरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दासमेत पूर्ण रूपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नागरिकहरूको बाध्यता अझै हटेको छैन।

पुल समयमा नबन्दा वर्षामा आवतजावात ठप्प हुने र हिउँदमा पनि डुंगाको भरमा यात्रा गर्नुपर्ने अवस्था रहेको गौरीगन्जकी टीकामाया लिम्बूले बताइन्। ०६८ मा रु. ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पु जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ। तर, पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन। वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ। वर्षातमा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन। यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा ईश्वर माझीले बताए।

पुल नबन्दा त्यहाँ वर्षौंदेखि नदी तर्न डुंगाको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन। झापामा हुलाकी सडकको अधिकांश कार्य सकिन लाग्दा मुख्य नदी र खोलाको तीन पुल नबन्दा भने सडक सञ्चालनमा मै समस्या हुँदै आएको गौरीगन्ज– १ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताए। दोस्रो बिरिङ पुल भने आगामी वर्ष काम सकिने निर्माण कम्पन्नी लामा मैनाचुलीका इन्जिनियर राघव यादवले बताए। रासस

See More On

सुझावित समाचार