संखुवासभामा काठमाडौंको जस्तै लाखेजात्रा

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण

पूर्वी पहाडी जिल्ला संखुवासभामा काठमाडौं उपत्यकाका नेवार समुदायको संस्कृतिसँग जोडिएको लाखेजात्रा सुरु भएको छ । नेवार समुदायको बसोवास रहेका यहाँका मुख्य बस्तीहरू खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रबिसे, मानेभञ्जयाङ, तुम्लिङटारलगायत क्षेत्रमा नागपञ्चमीदेखि लाखेजात्रा सुरु भएको हो ।

खाँदबारी नगरपालिका–१ स्थित भीमसेन मन्दिरमा विधिवत् रूपमा पूजाआजा गरी लाखेजात्रा सुरु गरिएको हो । नेवाः देय दवूको संयोजनमा सुरु भएको लाखेजात्रामा कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै नाच प्रदर्शन गर्ने गरिन्छ । नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलकी, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीको पूजा गरी लाखे नाच सुरु गरेको स्थानीय पुष्पबहादुर श्रेष्ठले बताए ।

द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंसबीचको लडाइँको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै नेवार समुदायले लाखे नाच निकाल्ने प्रचलन छ । लाखे सुरु भएपछि विभिन्न क्लब तथा समूहले समेत लाखे नाच निकाल्ने गरेका छन् । अचेल बजार क्षेत्रको सिको गर्दै गाउँ–गाउँसम्म लाखे नाच देखिने गरेको छ । 

सुझावित समाचार