उदयपुरमा पर्ने तटीय क्षेत्रका मानवबस्तीमा सप्तकोसी पस्यो

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

ब्यारेजका सबै ढोका खोलिदिन मेयर कार्कीको आग्रह

गएरातिदेखि उदयपुरको बेलका नगरपालिकामा पर्ने तटीय क्षेत्रका मानवबस्तीमा सप्तकोसी नदी पसेको छ । लगातारको वर्षातसँगै सप्तकोसी नदीमा आएको बाढीले बेलका नगरपालिका– ८ डुम्रीबोटेमा पर्ने लाहुरखोँचमा कटान गर्दै नदी मानवबस्तीमा पसेको हो ।

बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले गएरातिबाट सप्तकोसी नदी मानवबस्तीमा प्रवेश गरेको बताए । उनले भने, ‘अहिले कोसीतटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । हिजैदेखि सुरक्षित स्थानमा सर्न अनुरोध गर्दै आएका थियौँ ।’

गएको असार ५ गतेदेखि कोसीमा पानीको बहाव बढेसँगै कटान पनि बढ्दै गएको थियो । उनले भने, ‘जहाँबाट अहिले सप्तकोसी मानवबस्तीमा प्रवेश गरेको छ, त्यो स्थान भनेको ०४५ सालमा कोसी बगेको स्थान हो । अहिले त्यो स्थानमा मानवबस्ती रहेको छ । त्यही स्थानमा अहिले कोसी बग्न सुरु भएको छ ।’ झन्डै दुई सय घरभन्दा बढी विस्थापित भएका छन् । उनले भने, ‘हामी अहिले स्थानीयलाई सुरक्षित स्थानमा लैजान र खाने–बस्ने व्यवस्थाको तयारीमा जुटेका छौँ ।’

अहिले पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ । उदयपुरतर्फ कोसीले धार परिवर्तन गर्दा बेलका नगरपालिका– ८ को सिसौली बस्ती, वडा नम्बर ९ को रंशशाला क्षेत्र, वडा नम्बर ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर, जाल्पादेवीलगायतका गाउँमा सप्तकोसी बगेको छ । उनले भने, ‘माथिल्लो भेगबाट तल्लो भेगमा पानी जाने क्रम जारी छ । तल्लो भेगका स्थानीयलाई हामी धमाधम अन्यत्र सारिरहेका छौँ ।’

कोसीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुरूप नगरपालिकासँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ७ पनि प्रभावित हुने भएको  बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बताए ।

उनले भने, ‘निरन्तर बाँध बाँध्ने काम जारी राख्दाराख्दै कोसी मानवबस्तीमा पस्यो । झन्डै २५ हजार स्थानीयलाई विस्थापित बनाउने भयो । कोसी ब्यारेजको सबै ढोका खोलिदिन पाए क्षति कम हुने थियो ।’

उनले अहिलेसम्म कोसीमा पानीको बहाव बढ्दा सप्तकोसी ब्यारेजमा रहेका सबै ढोका नखोल्दा समस्या आएको बताए । उनले भने, ‘ब्यारेजले कोसीको पानी थुनेर राखेको छ । जसको कारण ओभरफ्लाे भएर कटान हुनुका साथै धार परिवर्तन गरेको हो । ब्यारेजका सबै ढोका खोल्न पाए क्षति कम हुने थियो ।’

कार्कीले सार्वजनिक भवन, विद्यालयलगायतमा विस्थापित स्थानीयलाई राख्ने तयारी भएको पनि बताए । सिँचाइ विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय, नगरपालिका कटान रोक्ने प्रयास जारी राखे पनि असफल भएको छ । 

सप्तकोसी नदीको तटीय क्षेत्रमा कटान र डुबान हुनुमा सप्तकोसी ब्यारेज मुख्य कारण रहेको बताइएको छ । ब्यारेजबाट पानी बग्न नपाउँदा यसपटक पनि मानवबस्तीमा कोसी पसेको कार्कीले बताए । 

कोसी कटानबाट उदयपुर, सप्तरी र सुनसरीका सयौँ बस्ती प्रभावित छन् ।  नेपाल–भारतबीच सन् १९५४ मा बहुउद्देश्यीय कोसी सम्झौता भएको थियो  । कोसी सम्झौताअनुसार भारत सरकारले नदीका दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको छ । 

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सप्तकोसी नदीको बाँध फुटेर मानवबस्तीमा प्रवेश गरेको जानकारी आएसँगै आफूहरू पनि प्रभावित क्षेत्रमा हिँडेको बताए । उनले भने, ‘कोसी मानवबस्तीमा प्रवेश गरेको जानकारी आएको छ, हामी जाँदै छौँ ।’ 

सुझावित समाचार