उमेर समूहमा भारतसँग नेपालको लज्जास्पद हार

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

नेपाली राष्ट्रिय यू–२० टोली पहिलो दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा आइतबार ८–० ले पराजित भएको छ । उमेर समूहको अन्तर्राष्ट्रिय खेलमा नेपालको यो हार सबैभन्दा फराकिलो हो । हारसँगै नेपालको फाइनल पुग्ने सपना कमजोर बनेको छ । अघिल्लो दुई खेलमा उत्कृष्ट नतिजा निकाली नेपाल फाइनलनजिक पुगेको थियो । भारतसँगको हारले नेपाल अंकतालिकाको तेस्रो स्थानमा झरेको छ । 

राउन्ड रोविन लिगमा बंगलादेश तीन खेलबाट सर्वाधिक नौ अंक जोडेको छ । बंगलादेश शीर्ष स्थानमा छ । नेपाल र भारतले समान तीन खेलमा ६ अंक जोडेका छन् । हेड टु हेडमा भारत अगाडि छ । माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌। दुवै टोलीले समान एक–एक हात पारेका छन् । 

नेपालले फाइनलको स्थान पक्का गर्न अन्तिम खेलमा बंगलादेशलाई नौ गोलको अन्तरले पराजित गर्नुपर्छ । बंगलादेशसँग बराबरी भए अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित हुँदा नेपाललाई पुग्छ । यसैगरी, समीकरणअनुसार माल्दिभ्स र भारतबीच बराबरी हुँदा बंगलादेशलाई सामान्य गोलअन्तरले हराउँदा पनि नेपाल फाइनल पुग्न सक्छ । बंगलादेशसँगको हार नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।

 कमजोर दोस्रो हाफ
नेपालले साबिक विजेता भारतविरुद्ध पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । दोस्रो हाफमा नेपाली खेलाडी कमजोर देखिए । खेलको ३२अौँ मिनेटमा टाइसन सिंहले भारतलाई १–० को अग्रता दिलाए । उनले नेपालका गोलरक्षक ईश्वर गुरुङको गल्तीमा गोल गरेका थिए । दोस्रो हाफमा भारतले खेलमा पकड बनायो । पार्थिव गोगोईले ५२अौँ मिनेटमा २–० ले अघि बढाए । खेलको ५३औँ मिनेटमा पार्थिवले भारतलाई ३–० को स्थितिमा राखे । 

६२अौँ मिनेटमा पाथुप गिमानाले भारतलाई ४–० को अग्रता दिलाए । ७१अौँ मिनेटमा हिमांशु झांकाले पेनाल्टीमा गोल गर्दा भारत ५–० ले अघि बढ्यो । मोहम्मद रिकाजले ७८अौँ मिनेटमा भारतलाई ६–० को बलियो स्थितिमा राखे । गुर्किरत सिंहले ८९अौँ मिनेटमा र सुभो पलले खेलको अन्तिम इन्जुरी समयमा गोल गर्दै भारतलाई ८–० को जित दिलाए ।
 

सुझावित समाचार