केन्द्रीय कारागारका ४८ प्रतिशत कैदीबन्दी विद्यार्थीले एसइई परीक्षामा ‘बी प्लस’ ल्याए

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

देशकै ठूलो सुन्धाराको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारभित्र अध्ययन गर्ने शतप्रतिशत विद्यार्थीले राम्रो जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण गरेका छन् । कारागारभित्र कैदी जीवन बिताइरहेकाहरूका लागि सरकारले छुट्टै विद्यालयको प्रबन्ध गरेको छ । विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

विद्यालयमा अध्ययनरत २३ मध्ये २१ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । सहभागीमध्ये दश विद्यार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीको संख्या नौ छ । त्यस्तै, विद्यालयमा अध्ययनरत एकजना विद्यार्थी ‘ए’ ग्रेडमा उत्तीर्ण भएका छन् भने अर्का एकले ‘सी प्लस’ ल्याएका छन् । 

कारागार कार्यालय, जगन्नाथ देवलका प्रमुख डोरेन्द्र निरौलाले एसइईमा सहभागी कारागारभित्रका कैदीबन्दी विद्यार्थी अब्बल नम्बरका साथ उत्तीर्ण भएको बताए ।  उनले भने, ‘कारागारभित्र कक्षा १२ सम्मको पढाइ हुन्छ । यसपटक एसइई परीक्षामा २१ विद्यार्थी सहभागी थिए । जसमध्ये १० जनाले ‘बी प्लस’, ९ जनाले ‘बी’, एकजनाले ‘ए’ र अर्का एकले ‘सी’ ग्रेड ल्याएका छन् । सरसर्ती हेर्दा सबैले राम्रो नम्बर ल्याएर पास भएको देखिन्छ ।’

No description available.

कारागारभित्र हाल तीन सय ४९ विद्यार्थी अध्ययनरत छन् । यो संख्या ०७८ मा तीन सय ७९ थियो । विद्यालयमा ०७२ देखि कक्षा ११ र १२ को अध्यापन हुँदै आएको छ । अध्यापनका लागि सरकारले नौवटा दरबन्दी स्वीकृत गरेको छ । विद्यालयमा कारागारभित्रकै कैदीबन्दीमध्येबाट अध्यापन हुँदै आएको छ । ०१९ देखि अनौपचारिक शिक्षा पढाइ हुँदै आएको कारागारभित्र एसएलसीसम्मको अध्ययन भने ०५० देखि सुरु भएको थियो । कारागारभित्रका कैदीबन्दी विद्यार्थी स्नातक र स्नातकोत्तर तहको परीक्षामा पनि सहभागी हुन सक्छन् । तर, अध्यापनको व्यवस्था भने गरिएको छैन ।

सुझावित समाचार