जनार्दन शर्माको कल डिटेल हेर्न पाइएन : अध्यक्ष ओली

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरूले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको दाबी गरे । साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नै गायब गरिएको दाबी गरे । 

‘अहिले सिसिटिभी राख्दा त फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइँदैन, लजा । अब ऊ वेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ वेला चोरी पत्ता लगाउनुपर्यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,’ उनले भने । 

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए । ‘थाहा पाउनुभयो होला, इन्टरनेसनल राखी पनि सुरु भइसक्यो । राखीमा राजनीति पनि भइसक्यो । जेहोस् राखीले दाजुभाइ–दिदीबहिनीको सम्बन्ध, दसैँले सम्पूर्ण नातागोताको सम्बन्ध । छठजस्ता चाडहरू, तीजजस्ता चाडहरू, गौराजस्ता पर्वहरू यस्ता पर्वहरूले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउँछ फेरि,’ अध्यक्ष ओलीले भने । 

सुझावित समाचार