नेपाल बैंक लिमिटेडले ‘नेपाल बैंक डबल धमाका’ नामक मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष चार महिना २० दिनमा दुई गुणा हुने योजना ल्याएको हो ।
त्यस्तै, संस्थाको हकमा भने सात वर्ष तीन महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ । त्यसैगरी, रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा पाँच वर्ष ११ महिना दुई दिनमा दुई गुणा हुने जनाइएको छ । यो मुद्दती खाता खोल्ने ग्राहकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो खाता नेपालभर रहेका नेपाल बैंकका सबै शाखामा खोल्न सकिने बैंकको भनाइ छ । बैंकले हाल देशभरमा दुई सय १९ शाखा, एक सय ८३ एटिएमका साथै ४७ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।