सिमानामा फहराइरहेको राष्ट्रिय झन्डा

पटक–पटक भारतीय हस्तक्षेपको सामना गर्दै आएपछि हामीले नै नेपालको राष्ट्रिय झन्डा राखेका हौँ

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

पटक–पटक सीमा विवाद भएको नेपाल–भारतको बीचमा रहेको ठुटेखोला पुलमा अहिले निरन्तर नेपाली झन्डा फहराउँछ । हुलाकी सडकखण्डअन्तर्गतको ठोरी गाउँपालिका– २ मा रहेको ठुटेखोला पुलको दुवैतर्फ बारमा यसरी चन्द्रसूर्यअंकित राष्ट्रिय झन्डा फहराउन थालेको एक वर्ष हुनै लागेको छ । 

०७४ सालमा नेपाल सरकारले निर्माण गरेको यो पुल भारतले आफ्नो भूमि भएको दाबी गर्दै अवरोध गरेपछि तीन वर्षपछि मात्रै सञ्चालनमा आएको थियो । सञ्चालनमा आएपछि अहिले यहाँ भ्रमणमा आउने सबैभन्दा धेरै भारतीयहरू नै हुने गरेका छन् । राष्ट्रिय झन्डा फहराएको दृश्य समेटेर सेल्फी लिन र टिकटक बनाउन भारतीय र नेपालीहरूको यहाँ भिड लाग्ने गरेको छ । ठोरीलाई मधेस प्रदेशले पनि केही समयअघि पर्यटकीय क्षेत्र घोषणा गरेको थियो । ठोरीमा करिब १० करोड लगानीमा ठोरी जंगल रिसोर्ट पनि खुलेको छ । यस्ता ठूला लगानीमा ठोरीमा होटेल व्यवसाय सञ्चालन हुने क्रम बढ्दो छ । 

यहाँ ४३५ नम्बरको सीमा स्तम्भ पनि छ । दुई वर्षअघि यहाँको सीमा स्तभ उखलेर फालिएको अवस्थामा फेला परेको थियो भने भारतीयहरू पानीका लागि यस क्षेत्रमा आएर गस्ती गर्थे । ०७४ साल वैशाखमा दुई देशका सीमा अधिकारीबीचको वार्ताले उक्त स्थान नेपालको भएको निष्कर्ष निकालेपछि सीमाका नेपाली समुदायले तुलनात्मक रूपमा कम दुःख व्यहोर्न थालेका छन् । 

‘पटक–पटक भारतीय हस्तक्षेपको सामना गर्दै आएपछि हामीले नै नेपालको राष्ट्रिय झन्डा राखेका हाैँ,’ स्थानीय युवा सुदीप थापाले भने । एक सय दुई मिटर लामो पुलमा २० फिट अग्ला १२ वटा झन्डा गाडेका छन् । हावाहुरी र घामले झन्डा च्यातियो वा रङ खुइलियो भने उनीहरू साटिहाल्छन् । ठोरी नेपालको पुरानो नाका हो । पहिला नुन लिनका लागि यही नाकाको प्रयोग हुन्थ्यो । यहाँबाट भारतको भिखना ठोरी र जमुनिया बजारनजिकै पर्छ । नेपालीहरू भारतको ठूलो बजार नरकटियागन्जसम्म पुगेर किनमेल गर्छन् । पुलबाट करिब ३० मिटर दक्षिणमा भारतको प्रवेशद्वार छ ।
 

सुझावित समाचार