देखतभुली गाउँबाट चितुवाको छालासहित दुई पक्राउ

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको देखतभुली गाउँबाट चितुवाको छालासहित दुईजना पक्राउ परेका छन । गएराति प्रहरीको टोलीले कृष्णपुर नगरपालिका– ३ देखतभुली निरञ्जन मल्लको धानबारीमा लुकाइरहेको अवस्थामा चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले विशेष सूचनाका आधारमा इप्रका झलारीका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहको नेतृत्वमा इप्रका झलारीसहित सुदूरपश्चिम प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चितुवाको छाला बरामद गरेको बताए ।

चितुवाकाे दुई थान छाला बरामदका साथै उक्त गैरकानुनी काममा संलग्न भएका एक महिलासहित दुईजनालाई पक्राउ गरिएको छ । प्रहरी प्रवक्ता शाहले आठ फिट चार इन्च लम्बाइ, तीन फिट चौडाइ र सात फिट दुई इन्च लम्बाइ र दुई फिट चौडाइका दुई थान छाला बरामद गरिएको बताए । 

चितुवाको छाला तस्करीमा डडेल्धुरा अमगढी नगरपालिका काँडेकी ४० वर्षीया मालती मल्ल (सेट्टी) र सोही गाँउका २९ वर्षीया मोहन सार्की पक्राउ गरेका छन् । मालती मल्ल आफ्नो माइतीघर देखतभुली बस्दै आएका छिन् । 

डडेल्धुराबाट कञ्चनपुर हुँदै भारत तस्करीका लागि ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले मुख्य तस्करसम्म पुग्नका लागि थप अनुसन्धान भइरहेको जनाएको छ । ‘यसको गिरोह ठूलो हुन्छ,’ प्रवक्ता शाहले भने, ‘त्यहाँसम्म पुग्नका लागि हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ 

See More On

सुझावित समाचार