लुम्बिनी प्रदेश सभाका चार समितिमा सभापति चयनको प्रक्रिया अगाडि बढ्यो

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

चारवटै समितिको सभापतिमा एक–एकजनाको मात्रै उम्मेदवारी

लुम्बिनी प्रदेश सभाका चारवटा विषयगत समितिका सभापति चयनको प्रक्रिया एक वर्षपछि अगाडि बढाइएको छ । कुनै–कुनै समिति एक वर्षभन्दा पनि लामो समयसम्म सभापतिविहीन रहेको अवस्थामा बुधबार सभापति चयन प्रक्रिया अगाडि बढाइएको हो । 

बुधबार सभापतिका लागि उम्मेदवारी दर्ता गरिएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार चारवटै समितिको सभापतिमा एक–एकजनाको मात्रै उम्मेदवारी परेको छ । यहाँ सार्वजनिक लेखा समितिमा एमालेका विष्णु पन्थीको उम्मेदवारी परेको छ । त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राजमोकी तारा जिसीको उम्मेदवारी परेको छ ।

सामाजिक विकास समितिमा एमालेका बाबुराम गौतम र कृषि वन तथा वातावरण समितिको सभापतिमा एमालेकै जाल्पा भुसालको उम्मेदवारी परेको छ । बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सकिएको र बिहीबार समितिका छुट्टाछुट्टै बैठकबाट सभापति चयन भएको घोषणा गरिनेछ । सभापतिहरूको शपथ शुक्रबार हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए । 

लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगत समितिमध्ये चारवटा समिति लामो समयदेखि सभापतिविहीन हुँदा समितिका काम प्रभावित हुँदै आएका थिए । लुम्बिनी प्रदेश सभामा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार तथा विकास समिति र सामाजिक विकास समिति रहेका छन् । 

लेखा समितिका तत्कालीन सभापति डिल्ली चौधरी नयाँ सरकार गठनसँगै मन्त्री भएपछि सभापति पद खाली छ । त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने थिए जो माओवादी केन्द्र छाडेर एमालेमा आबद्ध भएपछि  पार्टीले कारबाही गरेसँगै उनको सांसद पद गुमेसँगै समिति सभापतिविहीन भयो ।  

कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव मन्त्री भएपछि यो समिति पनि सभापतिविहीन भएको थियो । यादव एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएका थिए । पछि उनको दल जसपाले पार्टी निर्णयविपरीत सरकारमा सामेल भएको भन्दै कारबाही गरेपछि उनको पनि सांसद पद गुमेको हो । सभापतिविहीन अर्को समिति सामाजिक विकास समितिका सभापति थिए दृगनारायण पाण्डे । पोखरेल नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने क्रममा उनले सांसद पदबाटै राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै सभापति पद खाली भएको थियो ।
 

सुझावित समाचार