फेसबुकमार्फत ‘भेट्ने काम छ’ भन्दै बोलाएर होटेलमा बन्धक

सात लाख फिरौती माग्ने ६ जना पक्राउ

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

दाङको तुल्सीपुर उपमहानगरपालिका– ७ की २६ वर्षीया निर्मला विकले फेसबुकमार्फत केशवकुमार विकलाई ‘भेट्ने काम छ’ भनी बुटवल बोलाइन् । दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका– ३ का विक काठमाडौंबाट बुटवल पुगे । सोमबार राति साढे ८ बजे बुटवल झरेका उनलाई ल्याउन बबई गाउँपालिका– ४ का ३५ वर्षीय लीला विक र ३५ वर्षीय नेवबहादुर घर्ती गए । निर्मलाले ‘आफन्तको गाडी छ, त्यही गाडीमा आउनू, नम्बर दिएकी छु’ भनेपछि केशवले पनि विश्वास गरे । 
केही समयपछि उनलाई लीला र नेवबहादुर चढेको गाडीका ड्राइभरले फोन गरे । उनीहरूको भेट भयो । प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीमा केशवलाई हालेर उनीहरूले तुल्सीपुरको सल्यानरोडस्थित युवम होटेलको १०६ नम्बर कोठामा बन्धक बनाई राखे । र, सात लाख रुपैयाँ फिरौती मागे ।
दैलेखस्थित केशवकी श्रीमतीकहाँ फिरौती माग गरेको सूचना पुग्यो । उनले मंगलबार दिउँसो साढे ४ बजे इलाका प्रहरी कार्यालय तुल्सीपुरलाई खबर गरिन् । खबर पाउनासाथ प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको टोलीले २० मिनेटमै केशवलाई उद्धार गर्यो । अपहरण गरी होटेलमा बन्धक बनाई राखेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गर्यो । 
पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का लीला विक, नेवबहादुर घर्ती, तुल्सीपुर– ७ की निर्मला विक, तुल्सीपुर–४ खाद्रेका सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका– ९ का मनोज थारू र गाडीचालक प्युठान– ७ घर भई हाल तुल्सीपुर– ६ बस्ने जनक कुँवर छन् । होटेलमा बन्धक बनाई फिरौती माग्ने ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

विदेश बस्दाको लेनदेन नमिलेपछि अपहरण
सुकलाल, मनोज र केशव रोजगारीको सिलसिलामा साउदी अरबमा सँगै बसेका व्यक्ति हुन् । सँगै काम गर्ने क्रममा केशवले सुकलाल र मनोजको पैसा पटक–पटक घर पठाउन सहयोग गर्थे । यसैक्रममा केही महिनाअघि विदेश रहेकै समयमा सुकलाल र मनोजले १६ हजार साउदी रियल (पाँच लाख ४२ हजार नौ सय ४६ नेपाली रुपैयाँ) केशवलाई दिए । नजिक आइएमई थिएन । त्यसैले केशवले पनि चिनेका साथी मोरङका प्रकाश सुवेदीलाई त्यो रकम दिए । पटक–पटक केशवले घर पैसा पठाउन सुवेदीकै सहयोग लिन्थे । तर, अन्तिमपटकको १६ हजार साउदी रियल घर पठाएनन् । सुवेदीले त्यो रकम आफैँले प्रयोग गरे । तर, उनले केही समयपछि दिन्छु भन्ने वाचा गरेका थिए । 
यसैबीचमा केशव, सुकलाल र मनोज नेपाल आए । एक–डेढ महिनाअघि मात्रै उनीहरू नेपाल आएर पुनः जाने तयारीमा थिए । तर, त्यो पैसा नआएपछि सुकलाल र मनोजले लीला र नेवबहादुरसँग गुहार मागे । त्यसपछि लीला र नेवबहादुरले निर्मला विकलाई प्रयोग गरेर अपहरण गरेर केशवलाई तुल्सीपुर ल्याएका हुन् । त्यसअघि उनीहरूले आफ्नो पैसा फिर्ता गर्न दबाब दिएपछि केशवले प्रकाशलाई फोन गरेका थिए । प्रकाशले १० दिनभित्र पैसा दिने वाचा गरेको केशवले प्रहरीलाई बयान दिएका छन् । 

सुझावित समाचार