भुलु पहिरो : उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका– २ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिँदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध  गराउन निर्देशन दिएका हुन् । 

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रजिअ मरासिनीले जानकारी दिए । 

६५ वर्षीया नैना विष्टको भने जीवितै उद्धार गरेर अस्पताल पुर्याइएको मरासिनीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका प्रजिअ मरासिनीले बताए । घरमूली अमर भने कामका सिलसिलामा घरबाहिर रहेको जानकारी आएको र अहिले पहिरो रोकिएको उनले बताए । 

सुझावित समाचार