गुडिरहेका बस र स्कुटरमाथि ढल्यो सल्लाको रूख, तीनको ज्यान गयो

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

भक्तपुरको सल्लाघारीमा गुडिरहेको मिनीबस र स्कुटरमाथि सल्लाको रूख बजारिँदा तीनजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । आइतबार मध्याह्न १२ बजे काठमाडौंबाट यात्रु बोकेर कमलविनायकतर्फ जाँदै गरेको बा.२ख ३५८४ नम्बरको मिनीबस र बा.६१प ३९७८ नम्बरको स्कुटरलाई रूखले च्यापेको हो ।

घटनामा बसमा यात्रारत भक्तपुर व्याँसीका २५ वर्षीय विशेष खर्बुजा, सर्लाही हरिवनका ४५ वर्षीय राजकुमार भुजेल र स्कुटरमा सवार कमलविनायकका ५५ वर्षीय न्हुच्छेराम बखत्योको ज्यान गएको छ । घाइतेहरूको इवामुरा अस्पताल र भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । 

रूखले बसको पछिल्लो भागलाई च्यापेकाले अगाडि सिटमा बस्ने केही यात्रु सामान्य घाइते मात्रै भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले बताए । सिंगो रूख स्कुटरमाथि बजारिएको थियो भने बसमाथि एउटा हाँगो मात्रै परेको थियो । मृतकको शव पोस्टमार्टमका लागि दुवाकोटको केएमसी अस्पताल लगिएको छ । 

क्षतिपछि नगरपालिकाको कदम– सडक किनारका पुराना रूख काटिने
रूख ढलेर तीनजनाको ज्यान नै गएपछि भक्तपुर नगरपालिकाले सडक आसपासका पुराना रूख काट्ने योजना बनाएको छ । सडक किनारका सल्लाका जोखिमपूर्ण रूखमा चिह्न लगाएर तत्काल काटिने मेयर सुनील प्रजापतिले बताए । ‘सल्लाघारी सडक आसपासका रूख धेरै वर्ष पुराना हुन् । रूखको अवस्थाबारे हालसम्म कुनै अध्ययन भएको छैन,’ उनले भने, ‘अब ती रूखका जराको अध्ययन गरेर जोखिम अवस्थामा रहेका रूख काट्छौँ ।’ 

See More On

सुझावित समाचार