बजेट कार्यान्वयनमा सघाउने गरी मौद्रिक नीति आएको छ : प्रधानमन्त्री

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण
बजेट कार्यान्वयनमा सघाउने गरी मौद्रिक नीति आएको छ : प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्षको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आएको बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघको १९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा सहयोग पुर्याउने बताए । 

‘भर्खरै यसवर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरेर मौद्रिक नीति सार्वजनिक गरिएको छ । यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुर्याउने नीति छ,’ उनले भने, ‘मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ ।’

देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रूपमा स्थापित गर्नुपर्ने चुनौतीलाई मध्यनजर गर्दै स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न तथा रोजगारी सिर्जना गरी देशलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्नसमेत प्रधानमन्त्री देउवाले आग्रह गरे । 

प्रधानमन्त्री देउवाले  नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महँगा र विलासीपूर्ण वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए । मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । उनले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि, वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुने गरी आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताए । 

निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधाहरू, उपलब्ध गराउन सरकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दै मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकासविना आर्थिक विकास र समृद्धि आउन नसक्ने उनको भनाइ थियो । 

सुझावित समाचार