कर्जाको चापसँगै बैंकको नाफा बढ्यो

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

गत आर्थिक वर्षमा बैंकहरूले थप चार खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए, अघिल्लो आवमा यस्तो कर्जा आठ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी थियो

आर्थिक वर्ष ०७८/७९ मा वाणिज्य बैंकहरूको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । दुई वर्षभन्दा बढी कोभिडका कारण ठप्प रहेको बजार खुलेपछि गत आवमा कर्जाको माग बढेको थियो । बैंकहरूले अहिले चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । शनिबारसम्म सातवटा वाणिज्य बैंकहरूले विवरण सार्वजनिक गरिसकेका छन् । सातमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले गरेको छ । ग्लोबलले पाँच अर्ब २० करोड रुपैयाँको खुद नाफा कमाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । 

कर्जाको व्यापार विस्तार भएपछि बैंकहरूको नाफा बढ्नु स्वाभाविक भएको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । उनले भने, ‘आर्थिक वर्षको पहिलो तनि महिनामै बैंकहरूले कर्जा लगानी बढाएका थिए । गत आर्थिक वर्षमा धेरैले प्रतीतपत्र खोले । आयातमा ठूलो संख्यामा वृद्धि भएको छ । बैंकको नाफा बढ्नु स्वाभाविक नै मान्नुपर्छ ।’ नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षमा बैंकहरूले थप चार खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो आवमा यस्तो कर्जा आठ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी थियो । 

पहिलो त्रैमासको भदौ र असोजमा मात्रै बैंकहरूले दुई खर्ब ३४ अर्ब ऋण लगानी गरेका थिए । खासगरि कोभिडपछि खुलेको बजार र चाडपर्वमा हुने ठूलो मागलाई धान्न आयातमा ऋण प्रवाह भइसकेको थियो । बैंकहरूले वर्षभरिकै झन्डै ६० प्रतिशत ऋण बजारमा पठाइसकेपछि सोही ब्याजबाट कमाइ खाने अवस्था आएको ग्लोबलका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यको भनाइ छ ।

कुन बैंकले कति कमाए ?

प्रभु बैंक
प्रभु बैंकले गत वर्ष दुई अर्ब ६० करोड नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको हो । अघिल्लो आवको असार मसान्तमा बैंकले एक अर्ब ७२ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा एक अर्ब ४१ करोड छ । खुद ब्याज आम्दानी पाँच अर्ब दुई करोड पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि दुई अर्ब ६० करोडबाट बढेर तीन अर्ब ८४ करोड पुगेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रेले गत आर्थिक वर्षमा दुई अर्ब १६ करोड नाफा कमाएको छ । अघिल्लो आवमा बैंकले एक अर्ब ६० करोड आर्जन गरेको थियो । एक वर्षमा बैंकको नाफा ३४.४२ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा एक अर्ब ३२ करोड ८४ छ । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा बैंकको खुद नाफा बढेको हो । अघिल्लो आवमा चार अर्ब ३५ करोड रहेकोमा गत आवमा बैंकको खुद ब्याज आम्दानी पाँच अर्ब सात करोड छ । यस्तै, सञ्चालन मुनाफा तीन अर्ब १३ करोड रुपैयाँ छ । 

ग्लोबल आइएमई बैंक 
ग्लोबल आइएमई बैंकले पाँच अर्ब २० करोड नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो । बैंकले चार अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ । 

सानिमा बैंक
गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर दुई अर्ब २९ करोड २९ लाख ९ हजार तीन सय २७ रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा दुई अर्ब ३१ करोड ७८ लाख २१ हजार पाँच सय ८० रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको एक अर्ब ४६ करोड ९९ लाख ८६ हजार एक सय ४५ रुपैयाँ छ । 

एनआइसी एसिया बैंक
यो बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा चार अर्ब ५२ करोड कमाएको हो । अघिल्लो वर्ष बैंकले तीन अर्ब २५ करोड खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख पु¥याएको छ । अघिल्लो वर्ष बैंकले नौ अर्ब २२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

सिटिजन्स बैंक
गत आर्थिक वर्षमा सिटिजन्स बैंकको खुद नाफा २४.७६ प्रतिशतले बढेको छ । वित्तीय विवरणअनुसार बैंकले दुई अर्ब २५ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षमा बैंकले एक अर्ब ४२ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । 

लक्ष्मी बैंक
लक्ष्मी बैंकको नाफामा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकको नाफा १.७६ प्रतिशतले मात्रै बढेको छ । बैंकले एक अर्ब ६० करोड रुपैयाँ मात्रै कमाएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा एक अर्ब ५७ करोड रुपैयाँ थियो । बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट बढेर ०.८९ प्रतिशत पुगेको छ । 
 

See More On

सुझावित समाचार