४४औँ पुष्पलाल स्मृति दिवसमा एमाले र समाजवादीको बेग्लाबेग्लै कार्यक्रम

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

एमाले र नेकपा एकीकृत समाजवादीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस बेग्लाबेग्लै कार्यक्रम आयोजना गरेर मनाएका छन् । एमालेले डल्लुस्थित पुष्पलाल स्मृति पार्कमा र एकीकृत समाजवादीले पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरस्थित चम्पादेवीमा स्मृति दिवस मनाएका छन् । स्मृति पार्कमा पुगेर एमाले अध्यक्ष केपी ओलीले पुष्पलालप्रति श्रद्धासुमन अर्पण गरे भने स्मृति प्रतिष्ठानमा गएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्त गरे । 

डल्लुमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहिद भएकाहरूलाई उचित सम्मान नदिएको बताए । ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा ०१० सालमा भीमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन,’ ओलीले भने । कांग्रेसले आन्दोलन गर्दा सहादत प्राप्त गरेका यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठहरूलाई पनि सहिदका रूपमा सम्झिन कन्जुस्याइँ गरेको उनको भनाइ थियो ।

उता, चम्पादेवीमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाटै दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताए । ‘पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौँ । त्यसको छुट्टै अस्तित्व छ । अरूभन्दा भिन्न रूपमा प्रस्तुत भएर नै स्वच्छ, समर्पित राजनीतिका निमित्त, इमानदार राजनीतिका निमित्त, देश र जनताका निमित्त केन्द्रित हुनेछ,’ नेपालले भने । 

पुँजीवादीहरूले नेकपा विभाजन गराए : ओली
एमाले अध्यक्ष केपी ओलीले पुँजीवादीहरूले आफ्नो स्वार्थ पूरा गर्न गठबन्धन खडा गरेर तत्कालीन नेकपा विभाजित गराएको दाबी गरेका छन् । पार्टीको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौँ राष्ट्रिय महाधिवेशनको शनिबार ललितपुरको गोदावरीमा उद्घाटन गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । 
‘पुँजीवादीहरूको स्वार्थका लागि हाम्रो देशमा तथाकथित गठबन्धन गराइयो र गत वर्ष हाम्रो पार्टी विभाजन गराइयो,’ ओलीले भने, ‘त्यो मजदुर वर्गपक्षीय विचार, मजदुरपक्षीय हित, मजदुर संगठनहरू, श्रमिक वर्गपक्षीय आन्दोलन कमजोर पार्ने प्रयासस्वरूप भएको हो ।’ तर, ती पुँजीवादी को थिए भन्ने ओलीले स्पष्ट गरेनन् । 

मजदुरहरूले समानताको अधिकार आफ्नै संघर्षबाट प्राप्त गरेको ओलीले बताए । ‘पुँजीवादीहरूमा उदारता आएर, मानवीय चेतना फर्किएर होइन, उनीहरूमा मानवता पलाएर होइन, शोषणकारी प्रवृत्ति घटेर होइन, मजदुर आन्दोलनले चेपाइमा पारेर, बाध्य पारेर यस स्थितिमा पु¥याएको हो,’ ओलीले भने, ‘मौका पर्दा उनीहरूले दमन गर्छन्, सजिलो नभएपछि पछि हट्छन्, यो नै पुँजीवादी चरित्र हो । अहिले जुन उपलब्धि हासिल भएको छ, दयामायाबाट प्राप्त भएको होइन, संघर्षको उपलब्धि हो । सामाजिक सुरक्षा, कार्यथलो, समान ज्याला, बालश्रम निषेध गर्ने, महिला–पुरुषको ज्याला असामनाता अन्त्य गर्न ठूलो सफलता प्राप्त गरेका छौँ ।’

सुझावित समाचार