पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले मधेसका जनतालाई गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित ‘जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले मधेस प्रदेशमै आएर नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भनी गरेको प्रतिबद्धता पूरा भएको बताएका हुन् ।
‘हामीले केही समय पहिला मधेस प्रदेशमै आएर यहाँका लाखौँ युवाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौँ । त्यो समस्या हिजो मात्र समाधान गर्ने निर्णय गर्यौँ,’ अध्यक्ष प्रचण्डले भने । मधेस र पहाडका गरी झन्डै छ लाख नागरिक नागरिकताबाट वञ्चित रहेको उनको भनाइ थियो । नागरिकतासम्बन्धी समस्या समाधान गर्ने निर्णय भएको सन्देश घरघरमा पुर्याउन उनले नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
कार्यक्रममा उनले बागमती नगरपालिका र नगर प्रमुख भरतकुमार थापाको प्रशंसासमेत गरे । बागमती नगरपालिकाले वैचारिक, आर्थिक, राजनीतिक, सामाजिक र विकासका हिसाबले नमुना समाजवाद प्रस्तुत गरेको उनको भनाइ थियो ।