सिराहाको गोलबजार नगरपालिका–९ डन्डा टोलको इनारमा भेटिएको शव निकालिएको छ। प्रहरी र सेनाको टोलीले शनिबार बिहानदेखि इनारबाट शव निकाल्ने प्रयास गरे पनि सफल भइरहेको थिएन। दिउँसो करिब साढे १ बजेतिर जनकपुरबाट आएको प्रहरी टोलीले शव निकालेको हो।
इनारमा अक्सिजनको मात्रा कम भएकाले आफूहरूले नसकेपछि जनकपुरबाट आएको टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले बताए। प्रहरी निरीक्षक केसीका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धानसहित मुचल्का उठाएर शव पोस्टमार्टमका लागि लहान पठाउने तयारी गरिएको छ।
स्थानीयका अनुसार इनारमा भेटिएको शव स्थानीय करिब ४५ वर्षीय रामजतन पासवानको हो। शुक्रबार साँझदेखि हराइरहेका पासवानको चप्पल र गन्जी इनारनजिकै फेला परेको प्रहरीले जनाएको छ। घटना भवितव्य वा नियोजित के हो भन्नेबारेमा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।