अपहरण गरी भारत पुर्‍याइएकी एक वर्षीया नाबालिकाको २४ घण्टाभित्र उद्धार

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण

विराटनगरको रोडशेष चोकबाट अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । उनलाई अपहरण गरिएको २४ घण्टाभित्र भारतको दरभंगाबाट प्रहरीले सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । घटना शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको बताएको छ । 

विराटनगर महानगरपालिका– १२ रोडषेश चोकबाट बुढीगंगा गाउँपालिका– १, मोरङका दिपेन यादवकी एक वर्षीया छोरी निकिसा यादवको २ साउनमा शंकास्पद रूपमा अपरहण भएको थियो । आफूलाई दिपेनकी प्रेमीका बताउने विराटनगर– ६, कारखाना चोककी २७ वर्षीया अनु शाहले झुक्याएर अपहरण गरी विराटनगर–६, रामपुर चोकका २७ वर्षीय रवीन्द्रकुमार शाहसँगको मिलेमतोमा बालिकालाई  भारत बिहारकोे दरभंगा पुर्याएको अनुसन्धानबाट खुलेको छ ।

मोरङ प्रहरीका अनुसार सोमबार बिहान करिब ९ बजेदेखि बालिका हराएको भन्ने सूचना पाउनासाथ  मोरङ प्रहरी र प्रदेश १ प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले खोजतलास गरी बालिकालाई ३ गते साँझ ७ बजे नै भारतको दरभंगाबाट उद्धार गरेको हो ।  

अपहरणमा संलग्न अनु र रवीन्द्रलाई प्रहरीले पक्राउ गरी अपहरण तथा मानव बेचबिखन अरोपमा अदालतमा मुद्दा दायर गरी थप अनुसन्धान थालेको छ । अनुले रवीन्द्रसँग मिलेर किन बालिका अपहरण गरिन् र यसको भित्री अन्य कारण के के छन् भन्नेबारे प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएर खोजी गरिरहेको मोरङका एसपी शान्तिराम कोइरालाले बताए । 

पक्राउ परेका रवीन्द्र र अनुले १५ लाख फिरौतीका लागि बाबु दिपेनलाई प्रेमजालमा पारेर बालिकाको अपहरण गरेको भन्ने प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । तर, बाबु दिपेन र उनको परिवारलाई अपहरणकारीले पैसा भने नमागेको बताइएको छ । तर, अनुको मोबाइलबाट बालिकाको हजुरबुवालाई नातिनी अपहणमा परेको भन्ने ‘म्यासेज’ गरेको भेटिएको छ । त्यसैलाई आधार मानेर अपहरणको कारण अरू नै हुन सक्ने आशंका प्रहरीले गरेको छ । 

प्रहरीका अनुसार अपहरणकारीले बाबु दिपेनसँग नभई बालिकाको हजुरबुवासँग फिरौतीका लागि बार्गेनिङ गर्ने योजना बनाएका थिए । प्रहरीले तुरुन्तै काउन्टरपार्ट (भारतीय प्रहरी) सँग सहकार्य गरेर उनीहरूलाई ट्रेस गर्न सफल भएकोले उनीहरूले फिरौती मागेर असुल्ने अवसर नै नपाएको एसपी कोइरालाले बताए । 

२ साउन बिहान विराटनगरको रोडशोष चोकबाट बालिका अपहरण भएको सूचना पाएपछि बालिकाको हजुरबुवालाई आएको म्यासेजका आधारमा प्रहरीले बुढीगंगा– २, टंकीचोकमा श्रीराम ट्रेडर्स नामको इलेक्ट्रिक पसल गर्नेे रवीन्द्रलाई नियन्त्रणमा लिएको थियो । रवीन्द्रलाई नियन्त्रणमा लिएपछि अपहरित बालिकालाई दरभंगा लगेको खुलेपछि मोरङ प्रहरी र प्रदेश १ प्रहरीको विशेष अनुसन्धान टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर दरभंगाबाट बालिकालाई उद्धार गरी अपहरण गर्ने अनु शाहलाई पनि पक्राउ गर्न सफल भएको हो । 

बालिकाका बाबु दिपेन सुनसरी-मोरङ औद्योगिक करिडोरअन्तर्गत बुढींगंगा गाउँपालिकामा रहेको एक उद्योगमा मेकानिकल इन्जिनियरको रूपमा कार्यरत छन् । 

यसरी भएको थियो अपहरण 
अनुसन्धानमा सहभागी प्रहरीका अनुसार बालिकाको बाबु दिपेन र अपहरणमा संलग्न रवीन्द्रकुमारसँग पहिलेदेखि नै चिनजान थियो । रवीन्द्रले नै अविवाहित अनुसँग दिपनेको चिनजान गराइदिएका थिए । उनीहरूबीच समाजिक सञ्जालमा बाक्लो गफगाफ हुँदै आएको थियो । अपहरणको दिन २ साउन बिहान घरबाट एक वर्षीया छोरीलाई लिएर बाबु दिपेन आफैँले कार चलाएर रोडशेष चोक पुगेका थिए । त्यहीँ उनले अनुलाई पनि आफ्नो कारमा चढाएर पसलमा चिया पिउन लगेका थिए । सोही समयमा प्रेमिका भनिएकी अनुले पहिलेदेखि नै मोटरसाइकल लिएर तयार रहेका साथी रवीन्द्रको सहयोगमा बालिका अपहरण गरेकी थिइन् । दुवैले बालिकालाई मोटरसाइकलमा राखेर सुनसरीको इनरुवा हुँदै मधेस प्रदेशको सप्तरी जिल्लाको कुनौली बोर्डरसम्म लगेका थिए । 

त्यसपछि दुवैले जिप रिजर्ब गरेर बालिकालाई दरभंगा पुर्याएका थिए । दरभंगा पुगेपछि रवीन्द्र भने २ साउनमै नेपाल फर्केका थिए । फर्कँदा उनले दरभंगामा रहेकी अनुको मोबाइल पनि साथमा ल्याएका थिए । सोही मोबाइलबाट उनले दिपेन र बालिकाको हजुरबुवालाई म्यासेज गरेका थिए । प्रहरी स्रोतका अनुसार पहिलेदेखि घनिष्ठ सम्बन्ध भएका रवीन्द्र र अनुले आफ्नै लागि फिरौती रकम माग गर्नलाई अपहरण गरेका थिए वा अन्य कुनै ‘फ्याक्टर’हरू पनि छन् भन्नेमा प्रहरी अझै निष्कर्षमा पुगेको छैन । ‘संवेदनशील अपहरणमा रवीन्द्र र अनुको मात्र संलग्नता हो कि अरू पनि केही कारण छन् हामी खोजी गरिरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने ।  

उद्धार गरिएकी बालिकाका बाबु दिपेनले प्रेमिका बन्न चाहन्छु भन्ने अनुले छोरी हेर्न मन लागेको छ भनेर बारम्बार कर गरेकाले २ साउनमा छोरीलाई लिएर रोडशेष गएको र उसैले पूर्वयोजनाअनुसार आफ्नो विश्वासमा घात गरेर छोरी अपहरण गरेको प्रहरीलाई बयान दिएका छन् ।  
 

सुझावित समाचार