एमालेले पोखराबाट संघ र प्रदेश निर्वाचनकेन्द्रित अभियान सुरु गर्ने

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण

आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)ले आफ्नो सम्पूर्ण शक्तिलाई केन्द्रित गरेर अभियान सुरु गर्ने भएको छ। देशव्यापी सञ्चालन गर्ने अभियानको सुरुवात ८ साउनमा पोखराबाट हुने भएको हो।

अभियानमा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षासमेत गरिने भएको छ। प्रदेशस्तरीय भेलापछि पार्टीले जिल्ला, पालिका, वडा र टोल टोलमा अभियानहरू सञ्चालन गर्ने भएको छ। एमाले गण्डकी प्रदेश कार्यालयका सचिव माधव बाँस्तोलाले बुधबार एक प्रेस विज्ञप्ति जारी गदै पार्टीले सञ्चालन गर्ने पहिलो भेला एवं प्रशिक्षणको सुरुवात पोखराबाट गर्न लागेको हो।

पार्टीका शीर्ष तहका नेताहरूबाट दिइने प्रशिक्षण कार्यक्रममा मापदण्डभन्दा बाहिरका सदस्यहरूको सहभागितालाई बन्देज लगाइने जानकारी बाँस्तोलाले दिए। प्रशिक्षण मूलत: कार्यकर्तालाई वैचारिक खुराक थप्नुको साथै आगामी निर्वाचनमा एमालेको भूमिका कस्तो रहने भन्ने विषयमा केन्द्रित रहनेछ।  भेला एवं प्रशिक्षणमा प्रदेशका ११ वटै जिल्लाबाट सहभागीहरू आउनेछन्।  

पार्टीको गत ३२ असारमा सम्पन्न पूर्ण बैठकले कार्यक्रममा प्रदेश कमिटीका सबै सदस्यहरू, प्रदेश विभागका सबै सदस्यहरू, ११ वटै जिल्ला कमिटीका सदस्य र सल्लाहकारहरू, जनसंगठनका केन्द्रीय र प्रदेश सदस्यहरू, स्थानीय पालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको उनले बताए।

सुझावित समाचार