काठमाडौं महानगरमा दैनिक ३० खाल्टाखुल्टी टाल्न माग, चारवटा मात्रै सम्बोधन

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण
काठमाडौं महानगरमा दैनिक ३० खाल्टाखुल्टी टाल्न माग, चारवटा मात्रै सम्बोधन

डल्लु क्षेत्रको सडकका खाल्टा पुर्दै महानगरको पूर्वाधार एम्बुलेन्ससहितको टोली । तस्बिर : नयाँ पत्रिका

महानगरले पूर्वाधार एम्बुलेन्स सुरु गरेयता डेढ महिनामा १८ स्थानका दुई सय खाल्टा टाल्यो

कोटेश्वर–तिनकुनेका घनश्याम अधिकारीले बागमती नदी करिडोर सडकका खाल्टा पुर्न काठमाडौं महानगरको हटलाइन नम्बरमा तीनपटक गुनासो टिपाइसके । तर, ती खाल्टा टाल्न महानगरको पूर्वाधार एम्बुलेन्स टोली अझै पुगेको छैन । पराजुलीको गुनासो छ, ‘बागमती नदी करिडोरमा धराप खाल्टा छन्, रातिको वेला दुर्घटनाको जोखिम छ । मैले महानगरलाई तीनपटक जानकारी गराइसकेँ, तर चासो दिएन ।’ 

तिनकुनेका अधिकारीले झैँ सडकका खाल्टा र ढल फुटेको टाल्न भन्दै काठमाडौं महानगरको हटलाइन नम्बरमा दैनिक औसत ३० वटा फोन आउँछन् । तर, महानगरले जेनतेन दैनिक चार ठाउँको मात्रै खाल्टा पुर्ने गरेको छ । तथ्यांकअनुसार महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सुरु गरेयता डेढ महिनामा १८ स्थानका दुई सय खाल्टा टालेको छ । खाल्टा टाल्न भन्दै मासिक पाँच सयभन्दा बढी गुनासा आउने गरेकोमा सबै सम्बोधन गर्न सकेको छैन । मेयर बालेन्द्र साहले जेठको अन्तिम सातादेखि पूर्वाधार एम्बुलेन्स सेवा सुरु गरेका थिए ।

हटलाइन नम्बरमा आउने सबै गुनासाका आधारमा खाल्टा पुर्न आवश्यक जनशक्तिकै अभाव रहेको महानगरको सार्वजनिक निर्माण विभागका इन्जिनियर हरि बुढाले बताए । ‘हामीकहाँ कैयौँ गुनासा आउँछन्, तर सबैको गुनासो सम्बोधन गरिसाध्य हुँदैन । हाल पूर्वाधार एम्बुलेन्स सञ्चालनका लागि तीन इन्जिनियरसहित सात कामदार मात्रै खटिएको अवस्था छ । यति जनशक्तिले सबै गुनासा सम्बोधन गर्न सम्भव छैन,’ उनले भने, ‘सडकभरि जताततै खाल्टैखाल्टा छन् । ती पुर्न हामीलाई समय लाग्छ । अहिले खास–खास क्षेत्रमा मात्रै काम भइरहेको छ ।’ 

महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले पनि धेरै गुनासा एकैपटक आउँदा सम्बोधन गर्न नसकिएको बताए । मुख्य सडकको समस्यालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । ‘पूर्वाधार एम्बुलेन्स निरन्तर प्रयोगमा छ । तर, गुनासा धेरै आउँदा एकैपटक सम्बोधन गर्न सकिरहेका छैनौँ । मुख्य सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको छ,’ उनले भने, ‘धेरै मानिस ओहोरदोहोर गर्ने तथा ठूला सडकका खाल्टाखुल्टी पुरिसकेपछि सहायक सडकका समस्या समाधानतर्फ लाग्छौँ ।’ 

दुई सय खाल्टा टाल्न ११ लाख खर्च
हालसम्म दुई सय खाल्टा पुरेको महानगरले ११ लाख खर्च गरेको छ । खाल्टा टाल्न चाहिने मेटेरियल खरिदमा उक्त रकम खर्च भएको महानगरले जनाएको छ ।महानगरलाई गुनासो प्राप्त भएपछि विभागअन्तर्गतको इन्जिनियरको टोली खाल्टा अवलोकनमा जान्छ । त्यसपछि मात्रै पठाइने पूर्वाधार एम्बुलेन्सले खाल्टाखुल्टी पुर्ने, पर्खाल व्यवस्थापन गर्ने, ढल फुटेको र भासिएको ठाउँमा टाल्नेलगायत काम गर्छ । त्यसका लागि खाल्टो छोप्ने कभर, ढुंगा, गिटी, बालुवा, इँटा, रड, प्लग, ग्राभेल बेसलगायत सामान आवश्यक पर्छ । अलकत्रा पनि खरिद गर्छ । अलकत्रा भने पूर्वाधार एम्बुलेन्सले बोक्दैन । विभागले सडकका अन्य समस्या भए सम्बन्धित निकायलाई जानकारी पनि गराउँछ । 

कहाँका खाल्टा पुरिए ? 
महानगरको पूर्वाधार एम्बुलेन्सले हालसम्म टालेको दुई सय खाल्टामध्ये अधिकांश चक्रपथभित्रका मुख्य सडकका छन् । नयाँ बानेश्वर, तिनकुने, गौशाला, मित्रपार्क, चाबहिल, लाजिम्पाट, बालुवाटार, रविभवन, डल्लु, त्रिपुरेश्वर, थापागाउँ, पुरानो बानेश्वर, मैतीदेवी, कमलपोखरी, पुतलीसडक, न्युप्लाजा, कोटेश्वर ओरालो, शंखमूल सडकलगायत क्षेत्रका केही खाल्टा पुरेको छ । 

सुझावित समाचार