निशाको कीर्तिमानीमा तुल्सीपुरको उत्साह

सोमबार, २ साउन, २०७९
डिजिटल संस्करण

एकाबिहानै पञ्चैबाजा र नाचगानसहितको र्याली निस्कियो। त्यो न त कुनै पर्वको अवसरमा थियो न त अरू कुनै रौनक नै थियो। त्यो थियो– तुल्सीपुरको एक विद्यालयमा अध्ययनरत छात्राले सिनियरलाई पछि पार्दै गरेको राष्ट्रिय कीर्तिमानीको खुसियालीको र्याली। 

आफ्नो सिनियल खेलाडीलाई पछि पार्दै तुल्सीपुर उपमहानगरपालिका वडा नंं १६ भेलहीनिवासी १७ वर्षीया निशा चौधरीले एथ्लेटिक्समा राष्ट्रिय कीर्तिमानी कायम गरिन्। 
ग्रेट अरणीको सेकेन्डरी स्कुल तुल्सीपुरमा कक्षा १२ को परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेकी निशाको यो प्रदर्शनले विद्यालय पनि खुसी भएको छ। विद्यालयकै आयोजनामा निशाको सम्मानस्वरूप यो कार्यक्रम आयोजना गरिएको हो।

‘निशाको यो कीर्तिमानीले विद्यालय त खुसी छ नै, समग्र तुल्सीपुर पनि खुसी छ, यसको सन्देश दिन हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ,’ स्कुलका अध्यक्ष मानबहादुर बस्नेतले भने, ‘यो खेल क्षेत्रमा तुल्सीपुर अगाडि छ भन्ने प्रमाण पनि हो।’ 

निशाको पहिलो पढाइ र त्यसपछि खेल नै बन्यो। उनको खेलप्रतिको लगावले नै उनी उत्कृष्ट हुन सफल भएको अध्यक्ष बस्नेतले बताए। बस्नेतका अनुसार पहिलोपटक राष्ट्रियस्तरको खेलमा सहभागी भएकी चौधरीले काठमाडौंमा भएको १२औँ राष्ट्रपति रनिङ सिल्डमा एथ्लेटिक्समा राष्ट्रिय कीर्तिमानी कायम गरेकी हुन्। जुन खेलमा उनले न त पहिले प्रशिक्षण नै गरेकी थिइन्। खासः उनी तेक्वान्दोको खेलाडी हुन्। तर, पनि उनले एथ्लेटिक्समा पनि आफ्नो क्षमता देखाइन्। 

काठमाडौंको दशरथ रंगशालामा असार २८ देखि ३० गतेसम्म भएको रनिङ सिल्डमा सन २०१८ एपिएफकी शीला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड कायम गरेकी छिन्।  प्रशिक्षणविना नै जिल्ला, प्रदेश हुँदै पहिलोपटक उनी काठमाडौं पुगिन्।  उनी आफू सहभागी सबै स्पर्धामा स्वर्ण जितिन्।

चारवटा स्पर्धामा स्वर्ण जितेकी उनले ३ स्पर्धामा नयाँ कीर्तिमानी कायम गरिन्। जसमध्ये १ सय मिटर दौडमा उनको १२.५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान रहेको छ। एक सय मिटर रिलेमा निशासहित रेसु थारू, रामकुमारी थारू र सम्झना थारू सम्मिलित लुम्बिनी प्रदेशको टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेन्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरेका थिए।
 

सुझावित समाचार