विद्युत् प्राधिकरणको लापरवाहीका कारण उदयपुरमा एक बालिकाले आफ्नो देब्रे हात गुमाएकी छन् । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा बस्दै आएका रौतामाई गाउँपालिका–२ भुटारका भरतप्रसाद दाहालकी १६ वर्षीया छोरी कृष्टि दाहाललाई १६ असारमा घरको छतमा खेल्ने क्रममा करेन्ट लागेको थियो । सोही कारण उनले देब्रे हात र खुट्टाका औँला गुमाउनुपरेको छ ।
‘घरको छतमा खेलिरहेकी छोरी ११ हजार भोल्टको नांगो तारको नजिक पुगिछन् । करेन्टले तानेर प्mयाँकिदिएछ । भाग्यले छोरी बाँची । तर, उपचारका क्रममा देब्रे हात काँधसम्मै काट्नुपरेको छ । खुट्टाका औँला पनि काट्नुपर्यो । उपचारमा संलग्न चिकित्सहरूले समस्या आए अन्य भागमा काट्नुपर्ने भन्नुभएको छ,’ उनले भने । करेन्ट लागेपछि उद्धार गरी बालिकालाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि विराटनगरमा रहेको म्याक्स हस्पिटल पुर्याइयो । त्यहाँ पनि उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल काठमाडौं पुर्याइयो । अहिले काठमाडौंमै उपचार भइरहेको छ ।
कृष्टिलाई ११ हजार भोल्टेजको तारको करेन्टले तान्नुभन्दा पहिला केही दिनअघि मात्र नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटले मोतीगडा–जोगीदह खण्डको पुरानो विद्युत् तार परिवर्तन गरेको थियो । नयाँ तार जडान गर्दा पुरानो पोल अर्थात् एलाइनमेन्टभन्दा करिब डेढ मिटर पूर्वतर्फ एनसेल टावरको पोलमा विस्तार गर्दा घरको छतनजिक परेको थियो । दाहाल भन्छन्, ‘नयाँ तार विस्तार गर्दा मैले डेरा गरी बस्ने सन्तोष बरालको घरको छतमाथिबाट सोझै हातले भेट्ने अवस्थामा थियो । घरको छतमा खेल्दै छोरी तारनजिक पुगिछन्, त्यही वेला करेन्टले छोरीलाई तानेछ ।’ करेन्ट लाग्दा बालिका कृष्टिको देब्रे हात र दुवै खुट्टाको पैताला जलेको थियो ।
दाहालले छोरीको औषधि उपचारको खर्च, उच्च शिक्षा, आजीवन जिउने आधारको ग्यारेन्टी गर्नुपर्ने माग रहेको बताए । ‘छोरी अपांग हुनुमा विद्युत् प्राधिकरणका कर्मचारी दोषी हुन्,’ उनले भने, ‘क्षतिपूर्ति दिलाउन नेपाल विद्युत् प्राधिकरण गाईघाट, जिल्ला प्रशासन कार्यालय उदयपुर र त्रियुगा नगरपालिकामा निवेदन दिएका छौँ ।’
विद्युत् प्राधिकरणले चार सदस्यीय छानबिन समिति बनाएर स्थलगत मुचुल्का बनाइसकेको नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका प्रमुख पंकज गोइतले बताए । ‘कृष्टिलाई करेन्ट लाग्नु विद्युत् प्राधिकरणको लापरवाही नै हो । नयाँ तार टाँग्दा घरछेउमै पुर्याइएको रहेछ । त्यहाँ कुनै नापजाँचसमेत भएको देखिएन,’ उनले भने ।