रसियाको आक्रमणका बाबजुद २३ अगस्टदेखि युक्रेन प्रिमियर लिग

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

रसिया–युक्रेन युद्धपछि युक्रेनमा सबैजसो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता ठप्प छन् । यसैबीच युक्रेनले रसियाको आक्रमणका बाबजुद २३ अगस्टदेखि घरेलु फुटबल प्रतियोगिता गर्ने घोषणा गरेको छ ।युक्रेनका खेलकुदमन्त्री भाडयामले भनेका छन्, ‘युक्रेन प्रिमियर लिग (युपिएल) २३ अगस्टबाट स्थानीय रंगशालामा हुनेछ । खेलाडीलाई सुरक्षित किसिमले प्रतियोगितामा सहभागी गराइनेछ ।’

प्रिमियर लिगमा दर्शकले रंगशालामा गएर खेल हेर्न भने पाउनेछैनन् । आयोजक युपिएलले लिग दर्शकरहित हुने जनाएको छ । खेलाडीलाई पूरै समय सुरक्षित बनाउन रंगशालामा थप सुरक्षित प्रवधि जडान गरिनेछ । रंगशालाभित्र हवाई आक्रमणबाट सुरक्षित राख्न आक्रमण साइरन जडान गरिनेछ । ‘गत फेब्रुअरीमा रसियाले युक्रेनमाथि आक्रमण गरेयता यहाँ कुनै पनि खेलकुद गतिविधि भएका छैनन्,’ युक्रेनका खेलकुदमन्त्रीले भने, ‘मस्कोले हामीमाथि विशेष सैनिक आक्रमण गरेको थियो ।’ 

युक्रेनमा तीन महिनाको विन्टर ब्रेक हुन्छ । गत डिसेम्बरमा लिगको अन्तिम खेल भएको थियो । विन्टर ब्रेकअघि साख्तर डोनेट्स ४७ अंकका साथ लिगको शीर्ष स्थानमा थियो । साख्तरले १८ खेलबाट सर्वाधिक अंक बटुलेको थियो । साख्तरले दोस्रो स्थानमा रहेको ड्यानोमो किभविरुद्ध दुई अंकको अग्रता लिएको छ । 

खेलकुदमन्त्रीले २३ अगस्टमा राष्ट्रिय दिवसको अवसरमा लिग सञ्चालन हुने बताएका हुन् । ‘खेलको सुरक्षाका लागि सेनाको विशेष उपस्थिति हुनेछ,’ उनले भने, ‘यसका साथै अन्य सुरक्षाका सुविधा पनि व्यवस्था गरिनेछ ।’ राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिताका लागि लिग सञ्चालन गर्न आवश्यक भइसकेको उनले बताए । ‘अहिलेको अवस्थामा युपिएल लिग सञ्चालन गर्नुपर्ने हाम्रो बाध्यता हो,’ भाडयामले भने, ‘यदि समयमै लिग सञ्चालन गर्न नसकिए राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता सञ्चालन गर्न गाह्रो हुन्छ,’ उनले भने ।

 खेलकुदमन्त्रीले खेलाडी र युक्रेनी जनताको आत्मविश्वास वृद्धि गर्न खेलकुद गतिविधि अगाडि बढाउन लागेको बताए । ‘हामी प्रतिस्पर्धा र हौसला जारी राख्छौँ, हामी लड्छौँ र जित्छौँ,’ उनले भने, ‘युक्रेनी खेलकुदले सबै मोर्चामा विजयी हासिल गर्नेछ, हाम्रो प्रगतिमा कोही पनि बाधक बन्नेछैनन् ।’ 
 

सुझावित समाचार