राष्ट्रपति भण्डारीसँग लिउले भने– नेपालले कठिनाइको सामना गर्नुपर्ने अवस्थामा हिमालयको अर्को छेउमा चिनियाँ दाजुभाइ छन् भन्ने विश्वास गर्न म नेपाली जनतालाई आग्रह गर्दछु
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओ नेपालको चारदिने भ्रमण पूरा गरी बेइजिङ फर्किएका छन् । भ्रमणको चौथो दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे । उनले नेपाललाई कठिनाइ पर्दा ‘हिमालयको अर्को छेउका चिनियाँ दाजुभाइ’ सम्झन आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा शीर्ष नेतासँग भेटपछि तीन विषयमा आफू प्रभावित भएको उनले राष्ट्रपतिलाई सुनाएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा बुधबार जारी नोटअनुसार लिउले भने, ‘पहिलो, नेपालका सत्ताधारी र प्रतिपक्षी दलहरूको राजनीतिक दृष्टिकोण फरक भए पनि चीन–नेपाल मित्रता सुदृढ बनाउन एक ठाउँमा रहेकोबाट म प्रभावित भएँ ।’ दोस्रो बुँदामा उनले चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने सच्चा मित्र भएको, नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको तथा कुनै पनि शक्तिलाई नेपालको भूमि चीनविरोधी गतिविधिमा संलग्न हुन नदिने नेपालको प्रतिबद्धताबाट प्रभावित भएको उल्लेख गरेका छन् । लिउले भनेका छन्, ‘चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनताको रक्षा गर्न तथा भौगोलिक अखण्डता र राष्ट्रय परिस्थितिअनुकूल सामाजिक प्रणाली र विकासको छनोटमा सहयोग गर्दछ ।’ तेस्रो बुँदामा लिउले दुई देशका जनता पुस्तौँदेखि मैत्रीपूर्ण रहेको, दुई देशबीच पारस्परिक लाभकारी सहयोगको प्रचुर सम्भावना रहेको र दुई राष्ट्रप्रमुखको आपसी भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनमा दुवै पक्ष दृढ भएको देखेर आफू प्रभावित भएको बताएका छन् ।
लिउले नेपालसँगको मित्रता चीनको दीर्घकालीन नीति भएको उल्लेख गर्दै नेपालका सबै पक्ष र जनताका लागि मित्रता खुला रहेको बताए । ‘नेपालको विकास र नेपाली जनताको हितका लागि चीनले इमानदारीपूर्वक नेपाललाई सहयोग गरेको छ र नेपालको आर्थिक विकास र जनताको जीवनस्तर सुधारका लागि आफ्नो क्षमताअनुसार सहयोग जारी राख्न इच्छुक छ,’ लिउले राष्ट्रपतिलाई भने ।

नेता लिउले राष्ट्रपति सी जिनपिङका तर्फबाट राष्ट्रपति भण्डारीलाई शुभकामना व्यक्त गरेर कुराकानीको सुरुवात गरेका थिए । राष्ट्रपति भण्डारी र सीबीच विगतमा भएका सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको लिउको भनाइ थियो । उनले आफ्नो भ्रमण विगतका सहमति कार्यान्वयन, नेपालका विभिन्न पक्षसँग मैत्रीपूर्ण आदानप्रदान तथा द्विपक्षीय सम्बन्धको स्वस्थ र स्थिर विकासमा प्रवर्द्धन गर्न नेपाल आएको पनि राष्ट्रपतिलाई बताए ।
लिउले आइतबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का, सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा मंगलबार एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बेग्लाबेग्लै कुराकानी गरेका थिए । उनले सबैभन्दा बढी समय (साढे चार घन्टा) ओलीसँग बिताएका थिए भने त्यसपछि क्रमशः प्रचण्ड (दुई घन्टा), एकीकृत समाजवादी अध्यक्ष नेपाल(सवा एक घन्टा)सँग समय बिताएका थिए । उनले प्रधानमन्त्री देउवासँग करिब एक घन्टा र परराष्ट्रमन्त्री खड्कासँग ४५ मिनेट बिताएका थिए ।
नेपाल–चीन असल मित्र र दाजुभाइ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले तीन वर्षअघि राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको र सम्बन्धमा नयाँ प्रगति भएको बताइन् । दुई पक्षबीच भएको महत्वपूर्ण सहमति कार्यान्वयनका लागि दुई देशको संयुक्त प्रयासमा राष्ट्रपतिको जोड थियो । ‘नेपालले नेपाल–चीन सीमापार हिमालय बहुआयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माण अगाडि बढ्ने अपेक्षा गरेको छ,’ राष्ट्रपतिले भनिन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका अनुसार राष्ट्रपति भण्डारीले नेपाल र चीन असल मित्र र दाजुभाइ भएको बताइन् । नेपाल र चीनले सधैँ एकअर्कालाई सम्मान गर्ने र साझा हितको रक्षा गर्ने कार्यले सम्बन्ध प्रगाढ बनाएको उनको भनाइ थियो । ‘चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन । नेपाली पक्षलाई चीनप्रति पूर्ण विश्वास छ,’ भण्डारीले भनिन्, ‘नेपाल एक चीन सिद्धान्तमा अडिग छ । ताइवान, तिब्बत, सिन्जियाङ र हङकङका मुद्दाहरूमा नेपालले चीनको अडानलाई समर्थन गर्दछ ।’
राष्ट्रपति भण्डारीले कुनै पनि शक्तिको हस्तक्षेप र विस्तारको नेपालले विरोध गर्ने पनि बताइन् । ‘चीनको हितमा हानि पु¥याउने गतिविधिमा कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गर्न नेपालले अनुमति दिँदैन,’ राष्ट्रपतिले भनिन् । उनले भूकम्प तथा कोभिडको महामारीमा चीनले नेपाललाई गरेको सहयोगको प्रशंसा गरिन् ।
राष्ट्रपति भण्डारीले आज विश्व शान्तिपूर्ण नभएको, तर विश्वशान्ति र विकासमा चीनले ठूलो योगदान गरेको पनि चिनियाँ नेतालाई बताइन् । ‘चीनले पारस्परिक सम्मानका आधारमा अन्य देशसँग शान्तिपूर्ण र मैत्रीपूर्ण सम्बन्ध विकास गरेको छ, जसले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक समर्थन प्राप्त गरेको छ,’ चिनियाँ कम्युनिस्ट पार्टीका अनुसार राष्ट्रपतिको भनाइ थियो ।
नेता चेङ एक साता नेपालमै रहने
लिउसँगै आएकी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागकी सदस्य चेङ योउया केही दिन नेपाल बस्ने भएकी छन् । उनी विदेश विभागअन्तर्गत नेपाल मामिला कार्यालयमा कार्यरत छिन् । कूटनीतिक स्रोतका अनुसार लिउको नेपाल भ्रमणका लागि उनले समन्वय गरेकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा अध्ययन गरेकी उनले लिउ तथा नेपाली शीर्ष नेताहरूको संवादको अनुवाद गरेकी थिइन् । उनी नेपाली भाषामा दख्खल राख्छिन् । उनी पाँच वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टी हेडक्वार्टरमा माथिल्लो ओहोदामा कार्यरत छिन् ।
‘चेङले नेपाली नाम सरला राखेकी छन् । उनकै समन्वयमा लिउको नेपाल भ्रमण भएको हो,’ एक चिनियाँ कूटनीतिक स्रोतले भन्यो, ‘चेङ अर्को सातासम्म नेपालमै रहनेछिन् ।’ उनीसँग सम्पर्कमा रहेका एक नेपाली नेताका अनुसार लिउको भ्रमणपछि नेपालका राजनीतिक दल, बुद्धिजीवी र विभिन्न पक्षको धारणा बुझेर उनी बेइजिङ जानेछिन् ।