नेकपा एसका नेता र चिनियाँ नेताबीच भेटवार्ता

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)का नेताहरू र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियान्चाओलेबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका लिउ जियान्चाओले र नेकपा एसका शीर्ष नेताहरूबीच मंगलबार नयाँ बानेश्वरस्थित होटेल एभरेस्टमा भेटवार्ता भएको हो। 

भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताए। उनले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताए। अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट र चीनको कम्युनिस्ट जनवर्गीय संगठनका बारेमा पनि कुरा भएको बताए। 

उनले चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको भन्दै अझै चीन र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताए। अध्यक्ष नेपालले चिनियाँ पक्षले नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरूसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गरे। 

‘सम्बन्धलाई कसरी हामी अझै बलियो र बिस्तार गर्न सक्छौँ भन्ने कुरा मेरो तर्फबाट भयो । नेपालले चीनबाट र चीनले नेपालबाट पारस्परिक रूपमा सिक्नुपर्ने कुराहरू छन्, त्यसको निम्ति पार्टीका जनवर्गीय संगठनलगायतका बारेमा छलफल भए,' अध्यक्ष नेपालले भने, 'हामीले नेपाल एक चीन नीतिमा दृढ छ । चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप नेपालको बहसमा छैन । नेपाल अरूलाई भूमि प्रयोग गर्न दिने पक्षमा छैन । हामीले चीनसँग कुनै समस्या पाएका छैनौँ । यो सम्बन्धलाई अझै अघि लैजानुपर्छ भनेर कुरा भए । चिनियाँ पक्षले पनि नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरूसँगको सम्बन्धलाई पनि बलियो बनाउन चाहेको बतायो।' 

सुझावित समाचार