नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य सम्पन्न भई एकीकृत कारोबार सुरु भएको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन सुरु भएको हो ।

‘क’ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ । बंगलादेश बैंक प्राप्तिपछि देशकै सबभन्दा ठूलो वितीय संस्था भएको बैंकले जनाएको छ । 

नबिल बैंक र एनबी बैंक एक–आपसमा प्राप्ति (एक्विजिसन)को आवश्यकता र औचित्यमा छलफलपश्चात् समग्र बैंकिङ प्रणालीका आवश्यकतालाई समेत मध्यनजर गर्दै बैंकप्रति सर्वसाधारणको विश्वसनीयतामा थप अभिवृद्धि गर्न कदम चालेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको उनको भनाइ छ । 

प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए । बैंक ठूलो भएसँगै  बैंकिङ प्रणाली, मानव संसाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिवृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । 

उनले भने, ‘हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्तालगायतका सरोकारवालाको हित संरक्षण गर्ने, देशव्यापी शाखाहरूको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने, पुँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय जोखिम तथा ख्यातिसम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न अग्रणी भूमिका खेल्ने नीति लिनेछौँ ।’ साथै, सबै सूचकांकहरूमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको उनको भनाइ छ । 

सुझावित समाचार