घरजग्गा कारोबारमा देखिएको जटिलता समाधानको प्रयास हुँदै छ : सचिव भुजेल

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाल जग्गा तथा आवास विकास महासंघको व्यवस्थापनमा भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलद्वारा सञ्चालित १५ दिने ‘जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकाससम्बन्धी तालिम’ सम्पन्न भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर तालिम समापन गरिएको हो।

गत असोज ६ गतेदेखि तालिम सुरु भएको थियो। समापन कार्यक्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले रियल इस्टेट क्षेत्रका लागि यो तालिम अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।

उनले भने, ‘जग्गा प्रशासन आफैँमा जटिल विषय हो, जसलाई निरन्तर सिकाइ र तालिमको आवश्यकता पर्छ। रियल इस्टेट व्यवसायमा हदबन्दीका कारण जग्गा तथा घर बिक्रीमा देखिएको जटिलता समाधान गर्न प्रयास भइरहेको छ। साथै, कित्ताकाटको समस्या र गुठी जग्गाबाट उत्पन्न अप्ठ्याराहरू शीघ्र हल गरी यस व्यवसायलाई थप व्यवस्थित र सम्मानित बनाउन मन्त्रालय लागिपरेको छ।’ उनले यस्ता तालिमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको धारणासमेत राखे।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसायमा ८–१० वर्ष अघिदेखि देखिएको हदबन्दीको समस्या र कित्ताकाटको जटिलताका कारण व्यवसायीहरू मारमा परेकातर्फ मन्त्रालयको ध्यानाकर्षण गराए।

देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४२१ वटाले मात्र जग्गा वर्गीकरण सम्पन्न गरेकाले बाँकी क्षेत्रमा कित्ताकाटको समस्या बल्झिरहेको उनको भनाइ छ। उनले घरजग्गा कारोबारको लाइसेन्स प्राप्तिका लागि यस किसिमको तालिमलाई अनिवार्य बनाइनुपर्नेमा जोड दिँदै रियल इस्टेटसम्बन्धी सबै कम्पनीहरूलाई महासंघको सदस्यता लिन आग्रह गरे।

भूमि व्यवस्थापन तालिम केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीले मन्त्रालयले मालपोत नियमावली संशोधन गरेदेखि नै यस्तो तालिमको आवश्यकता खड्किएको बताए।

मन्त्रालयका सहसचिव तथा विशिष्ट अतिथि गणेशप्रसाद भट्टले रियल इस्टेटसम्बन्धी कानुनहरूको संशोधन प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै प्रशिक्षार्थीहरूले भूमि प्रशासनसम्बन्धी उपयोगी ज्ञान हासिल गर्न पाएकामा खुसी व्यक्त गरे। 

यस्तै, तालिम निर्देशक रामकुमार सापकोटाले एक वर्षअघिको परिकल्पनाले मूर्तरूप लिएको र प्रशिक्षार्थीहरूको नियमित उपस्थिति, प्रस्तुतीकरण र उत्साहजनक पृष्ठपोषणले तालिम सोचेभन्दा बढी प्रभावकारी भएको बताए।

सुझावित समाचार