सुनचाँदी व्यवसायीबीच व्यावसायिक एकरूपता कायम गर्ने निर्णय

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

सुनचाँदी व्यवसायीका दुई संगठनबीच यस क्षेत्रमा हुने सबैखालका कारोबार र व्यावसायिक गतिविधिमा एकरूपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सहमति भएको हो । 

दुई महासंघबीच भएको सहमतिका क्रममा दुवै महासंघको काठमाडौं उपत्यकाका विभिन्न जिल्लाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । यो निर्णयसँगै सुनको आपूर्ति तथा बिक्री–वितरण, मूल्य निर्धारण प्रक्रिया, बिक्रीपछिको खरिद प्रक्रिया, ज्याला, जर्ती तथा टोलरेन्सलगायतका विषयमा व्यवसायीबीच एकरूपता आउने विश्वास गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्ने क्रममा यो निर्णय भएको बताए । यो निर्णयले उपभोक्तालाई समेत फाइदा पुग्ने उनको भनाइ छ । यो निर्णयसँगै मूल्य र गुणस्तरमा एकरूपता कायम हुने हुनाले उपभोक्ताले निर्धक्कसँग कारोबार गर्न सक्ने उनको भनाइ छ ।

सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्ने क्रममा यो निर्णय भएको बताए । यसले व्यवसायीलाई मात्र नभई उपभोक्तालाई पनि फाइदा पुग्ने उनको भनाइ छ । यसअघि यदाकदा यी विषयमा व्यवसायीबीच फरक–फरक व्यवस्था हुने परिपाटी थियो । कार्यक्रममा व्यवसायीका विभिन्न समस्याको अध्ययन गर्न एक समितिसमेत गठन गर्ने निर्णय भएको छ । 

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, भक्तपुर सुनचाँदी व्यवसायी संघ, काभ्रे सुनचाँदी व्यवसायी संघ, रत्न तथा आभूषण व्यवसायी संघलगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ । 

सुझावित समाचार