‘ब्ल्याक एन्ड ह्वाइट’ चलचित्रमा पात्र झनै खुल्छन्

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण
‘ब्ल्याक एन्ड ह्वाइट’ चलचित्रमा पात्र झनै खुल्छन्

वभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा पुरस्कृत भएको नेपाली लघु चलचित्र ‘मलामी’को दृश्य । यो ब्ल्याक एन्ड ह्वाइट प्रविधिमा निर्माण गरिएको थियो ।

‘मनको बाँध’ (२०३०) ‘ब्ल्याक एन्ड ह्वाइट’ प्रविधिका बनेको अन्तिम नेपाली सिनेमा थियो । यसपछि नेपाली सिनेमा निर्माण रंगीन प्रविधिमा प्रवेश गर्यो । आमा (२०२२), हिजो आज भोलि (२०२५), परिवर्तन (२०२८ ) पनि ‘ब्ल्याक एन्ड ह्वाइट’ (श्यामश्वेत)मा नै बनेका थिए । ०३४ सालमा पहिलो रंगीन सिनेमा बन्यो ‘कुमारी’ ।

यसबीचको अवधिमा नेपाली सिनेमा निर्माणले प्राविधिक रूपमा ठूलो फड्को मारिसकेको छ । ‘ब्ल्याक एन्ड ह्वाइट’ रिलबाट र अत्याधुनिक डिजिटल प्रविधिमा पुग्न दशकौँ लाग्यो । तर, निर्देशक सुवर्ण थापा भने फेरि ‘ब्ल्याक एन्ड ह्वाइट’(श्यामश्वेत) सिनेमा बनाएर रिलिजको तयारीमा छन् । 

उनकै लेखन तथा निर्देशनमा बनेको ‘ब्ल्याक एन्ड ह्वाइट’ ‘द सेक्रेट अफ राधा’ २४ भदौदेखि देशभर रिलिज हुँदै छ । सिनेमामा गाउँले युवती राधाले आप्रवासी कामदारको रूपमा खाडी मुलुक पुगेका श्रीमान् बेपत्ता भएपछि खोज्न थालेको यात्राको कथा छ । अभिनेत्री सृष्टि श्रेष्ठ राधाको भूमिकामा छिन् ।

सिनेमाको पात्रको भावनालाई जोड दिन ‘ब्ल्याक एन्ड ह्वाइट’मा निर्माण गरेको उनी बताउँछन् । थापा भन्छन्, ‘विश्वमा सिनेमाको सुरुवात ‘ब्ल्याक एन्ड ह्वाइट’बाटै भएको हो । हिजोका ‘ब्ल्याक एन्ड ह्वाइट’मा सिनेमालाई आजको पुस्ताले बिर्सिंदै जान थाले । राधा नयाँ पुस्ताका दर्शकलाई नयाँ अनुभव हुनेछ । त्यसकारण पनि हामीले ‘ब्ल्याक एन्ड ह्वाइट’ देखाउने जमर्काे गरेका हौँ ।’

अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा राधालाई श्यामश्वेतमै सहभागी गराउने सुवर्णको तयारी छ । उनी भन्छन्, ‘नेपाली हलमा राधालाई रंगीन र ब्ल्याक एन्ड ह्वाइट दुवैमा रिलिज गर्छौँ । तर, अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा भने ‘राधा’लाई ब्ल्याक एन्ड ह्वाइटमा पठाउँछौँ ।’

सुवर्ण थापा, चलचित्र निर्देशक

विश्वमा सिनेमाको सुरुवात ‘ब्ल्याक एन्ड ह्वाइट’बाटै भएको हो । हिजोका ‘ब्ल्याक एन्ड ह्वाइट’ सिनेमालाई आजको पुस्ताले बिर्सिंदै जान थाले । त्यसकारण हामीले ‘ब्ल्याक एन्ड ह्वाइट’ देखाउने जमर्काे गरेका हौँ ।

तर, ब्ल्याक एन्ड ह्वाइटमा लगानीकर्ता भेटिँदैनन्
अहिलेको अवस्थामा ‘ब्ल्याक एन्ड ह्वाइट’मा सिनेमा निर्माण गर्नु आफैँमा चुनौतीको विषय ठान्छन् उनी । उनी भन्छन्, ‘ब्ल्याक एन्ड ह्वाइट सिनेमा निर्माण गर्नु निकै चुनौती छ । यस्तो सिनेमा निर्माणका लागि लगानी जुटाउन गाह्रो छ ।’ 

हुन त यसअघि उनले सर्ट फिल्म ‘मलामी’ पनि श्वामश्वेतमै बनाएका थिए । ‘मलामी’ले थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा अवार्ड जितेको थियो । त्यसकारण उनी सिनेमामा ‘कलर’भन्दा ‘कन्टेन्ट’मा विश्वास गर्छन् । उनको बुझाइमा ब्ल्याक एन्ड ह्वाइट पनि एउटा कलर नै हो । उनी भन्छन्, ‘सिनेमामा कन्टेन्ट निकै महŒवपूर्ण हुन्छ । पात्रले भन्न खोजेको कुरा श्यामश्वेतमा प्रस्ट हुन्छ । उसको भोगाइलाई दर्साउन पनि श्यामश्वेतमै सिनेमा बनाउने जमर्काे गरेका हौँ ।’

‘राधा’ले दक्षिण कोरियाको बुसान फिल्म फेस्टिवलबाट स्क्रिप्ट डेभलपमेन्टमा १० लाख ग्रान्ट पाएको उनले बताए । उनले श्यामश्वेतमै सिनेमा स्क्रिप्ट ‘पिच’ गरेका थिए । उनी भन्छन्, ‘विदेशमा ब्ल्याक एन्ड ह्वाइट सिनेमाको महŒव अझै पनि छ । ब्ल्याक एन्ड ह्वाइट सिनेमाको युग संसारबाटै सकिएको भने छैन ।’ ‘राधा’ले नेपाली दर्शकलाई नयाँ स्वाद दिने उनको दाबी छ ।

उनले सन् २०१३ मा बनाएको सिनेमा ‘सुनगाभा’को कथा महिला समलिंगीमाथि थियो । यो सिनेमालाई हलमा प्रदर्शन गर्न निर्माण गरे पनि व्यावसायिक रूपमा सफल नभएको उनी सुनाउँछन् । ‘मैले त्यो ‘च्यालेन्जिङ इस्यु’लाई उठाएको थिएँ । महिला र पुरुषबीचको प्रेमबारे मात्रै सिनेमा बनिरहेको वेला महिला–महिलाबीचको प्रेमलाई समेटेको थिएँ,’ उनी भन्छन्, ‘मलाई त्यसवेला यो कथा भन्न छिटो भयो भनेका थिए । नकारात्मक प्रचार पनि गरियो । थुप्रै आलोचना पनि खेप्नुपर्यो।’ 

‘सुनगाभा’ले स्वदेशी बजारमा भन्दा विदेशी बजारमा चर्चा पायो । सुनगाभा क्यानडाको मोन्ट्रियाल वल्र्ड फिल्म फेस्टिवल, जर्मनीको हेम्बर्ग फिल्म फेस्टिवल, फ्रान्सको इन्टरनेसनल फेस्टिवल अफ युथ डाइरेक्टरस्लगायतका फेस्टिवलमा प्रदर्शन भयो । 

त्यसपछि उनले ‘फन्को’ र ‘बाटोमुनिको फूल–२ निर्देशन गरे । तर, यी दुई सिनेमा पनि व्यावसायिक रूपमा सफल भएनन् । सिनेमाले उठाएको मुद्दा बलियो भए पनि दर्शकको साथ नपाएको उनी बताउँछन् । ‘अलग धारको सिनेमाबाट कमर्सियल सिनेमा बनाउन हात हालेको थिएँ तर सफल भइनँ । फन्को र बाटोमुनिको फूल–२ मेरा लागि सिकाइ भयो,’ उनले भने । 

सुझावित समाचार